
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । मंगलबार दुई पार्टीबीच कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अघि बढाउन १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ ।सहमतिअनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहनेछ । त्यस्तै, पार्टीको तत्कालीन कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने विषय समेटिएको छ ।दुई पार्टीबीचको सहमतिमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख छ । यद्यपि, समय र परिस्थितिअनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनका रूपमा उपयोग गर्ने सहमति भएको छ ।एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा आपसी सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ ।त्यस्तै, पार्टीका सबै तहका समिति तथा जनसंगठनमा पनि सहमतिका आधारमा एकता र समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ । यस्तो संगठनात्मक समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने सहमति भएको छ ।दुई पार्टीबीचको एकता सहमतिले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि साझा राजनीतिक तथा संगठनात्मक आधार तयार गर्ने उद्देश्य राखेको छ ।



























