रक्तदान गर्नाले कमजोरी आउँछ ?
टनिकको नियमित सेवन गर्नाले स्वास्थ्य राम्रो बन्छ ?
जण्डिस लागेका रोगीले पहे“लो रङ्गको कुरा खानु हुँदैन ?
गाजल लगाउनाले नेत्र ज्योति बढ्छ ?
स्तनपान गराउनाले आमाको फिगर खराब हुन्छ ?
चिया पिउनु स्वास्थ्यको लागि हानिकारक छ ?
पोलेको ठाउँमा चिसो पानी हाल्नु हुँदैन ?
रुनु स्वास्थ्यको लागि हानिकारक हुन्छ ?
धेरै खाना खानाले स्वास्थ्य बन्छ ?
चुइगम चपाइरहनु हानिकारक हुन्छ ?
चकलेटको सेवन हानिकारक हुन्छ ?
यी कुराहरु थाहा पाउनुस् र निस्कनुस् यिनका चक्रव्यूहबाट
१०० भन्दा धेरै स्वास्थ्य सम्बन्धी यस्ता गलत धारणाहरु, जुन मानिसको स्वस्थ जीवन जिउनमा बाधक बन्छन् ।स्वास्थ्य सम्बन्धी गलतधारणा हटाउने वैज्ञानिक ढङ्गको उपाय बताउने लाभप्रद पुस्तक
. स्वास्थ्यको सम्बन्धमा थोरै मात्र गलतधारणा जन्जाल बन्न सक्छ, यदि खानपान या दिनचर्यामा कुनै प्रकारको भूल भयो भने शरीर कमजोर हुन्छ र रोगले आफ्नो जरा गाड्न थाल्छ ।
. हामीले यस सिलसिलामा यदि वैज्ञानिक दृष्टिकोण बुझ्यौं भने तमाम प्रकारका गलतधारणाहरुबाट बच्न सक्छौं ।
१. के रक्तदान गर्नाले कमजोरी आउँछ ?
गलतधारणाको आधार
कुनैबेला कुनै मानिसलाई रगतको आवश्यकता पर्दा उसका अनेकौं नातेदार, मित्र एवं परिचित डराएर त्यहाँबाट चुपचाप बाहिर निस्केर जान्छन् । यसको कारण हो, आम मानिसको मनमा यस्तो खालको गलतधारणा छ, रक्तदान गर्नाले शरीरमा कमजोरी आउँछ, जुन धेरै समयसम्म महसुस हुन्छ ।
वास्तविकता
वास्तविकता के हो भने रक्तदान गर्नु हानिरहित प्रक्रिया हो, जसमा कुनै दुखाइ हुँदैन, न कुनै प्रकारको कमजोरी आउँछ । रक्तदानमा मात्र ४ या ५ मिनेटको समय लाग्छ । आधा घण्टाको विश्रामपछि रक्तदाता सामान्य दिनचर्या जारी राख्न सक्छ । सामान्य खुराक लिइरहनाले दिएको रगतको पूर्ति केही दिनमा हुन्छ । त्यसो त शरीरमा रक्तदानको तत्कालपछि दान गरिएको रगतको परिपूर्ति गर्ने प्रक्रिया प्रारम्भ हुन्छ ।
रगतको विकल्प छैन
रक्तदानको लागि कसैलाई बाध्य बनाउन सकिँदैन । यसैले मानिसलाई स्वेच्छाले रक्तदान गर्न अपिल गरिन्छ । मानव रगतको कुनै विकल्प छैन । यो कुनै औषधि हैन, जसलाई कुनै प्रयोगशाला या कारखानामा बनाउन सकियोस् या बजारबाट किन्न सकियोस् । जनावरको रगत पनि मानिसको लागि काम लाग्दैन ।
रगतको निर्माण र कार्य
रगत हाम्रो शरीरको बोनम्यारो, लिभर आदिमा बन्छ । यो शरीरको भिन्न–भिन्न अवयवलाई पोषण आदिको दृष्टिले र एकअर्कासँग सम्पर्क बनाइ राख्ने प्रधान वाहक हो । यसैको माध्यमबाट सारा शरीरमा अक्सिजन र पोषक तत्व पुग्छ । शरीरमा जुन तापमान विद्यमान रहेको हुन्छ, त्यो रक्त प्रवाहको कारण उत्पन्न हुने उष्माको परिणाम हो । अतः रगतको माध्यमले सारा शरीरको गतिविधि प्रभावित हुन्छ । आमरुपमा एक स्वस्थ मानिसको शरीरमा ४ देखि ५ लिटर रगत हुन्छ । रक्तदानमा एक पटकमा २५० देखि ३५० मिलिलिटर लिने गरिन्छ । जुन शरीरमा उपलब्ध रगतको १५ औं भाग हो । कुनै पनि मानिस ३ महिनाको अन्तरालमा रक्तदान गर्न सक्छ । यस्ता अनेकौं मानिस भेटिनेछन्, जसले आफ्नो जीवनमा १०० भन्दा धेरै पटक रक्तदान गरेका हुन् ।
रक्तदानको आवश्यकता
शरीरमा रगत दिने आवश्यकता प्रायः निम्नलिखित स्थितिमा पर्छ, आकस्मिक दुर्घटनामा जब शरीरबाट धेरै मात्रमा रक्तस्राव भैसकेको हुन्छ, गर्भपात, प्रसवपछि, मासिकधर्मको समयमा, आमाशय र पेटको अल्सर रोगमा, हिमोफिलियामा, अपरेशनमा जब धेरै रक्तस्राव भैसकेको हुन्छ, स्तब्धता र निपातको मरणासन्न अवस्थामा अपरेशनभन्दा पहिला जब रगतमा हेमोग्लोबिन र राता रक्तकण ४० प्रतिशतभन्दा कम संख्यामा बाँकी रहेका हुन्छन्, रक्तगत तीव्र सङ्क्रमणमा, उग्र रुपमा पोल्नाले विषाक्त रगत बदल्न, आर.एच. नेगेटिभ आमाका शिशुको जीवन रक्षाको लागि तथा रोगी घातक रक्त अल्पताबाट पीडित भएमा ।