
काठमाडौं । एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरिय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउन चाहन्छौं ।यद्यपि, कम्पनीले टिकटक र भाइबर लगायत अन्य दर्ता भइसकेका सामाजिक सञ्जालका प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने व्यहोरा जानकारी गराएको छ ।उक्त सूचना एनसेल आजियाटा लिमिटेड, एनसेल आइकन भवन, लैनचौर–२९, काठमाडौँले जारी गरेको हो।




























