
काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको थियो । हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।अस्पतालका अनुसार डा. केसीको रक्तचाप कम हुनुका साथै शरीरमा कमजोरी देखिएको छ । त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोस्याराले उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी दिए ।“डा. केसीको स्वास्थ्य अहिले स्थिर छ । प्रेसर लो र कमजोरी पनि देखिएको छ,” उनले भने ।अनशनका क्रममा उनको रगतमा चिनीको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनसमेत देखिएको थियो । रक्तचाप पनि निरन्तर घट्दै गएपछि चिकित्सकहरूले उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका थिए ।चिकित्सकको सिफारिसअनुसार थप उपचार तथा स्वास्थ्य अवस्थाको निरन्तर निगरानीका लागि उनलाई काठमाडौं ल्याइएको हो । हाल त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उनको उपचार भइरहेको छ ।



























