प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारेका हुन् । मुलुकमा अहिले निर्वाचनको माहोल छ । चुनावै नहोलाकी भन्ने आशंका पनि एकखाले मानिसमा रहेको पाइन्छ ।
‘निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौं’ राईले भने । । सो अवसरमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मिति वैशाख ३० गते स्थानीय तहको निर्वाचन सफलतापूर्वक हुने स्पष्ट पार्दै निर्वाचनमा प्रदेश सरकारको सहयोग हुने अपेक्षा व्यक्त गरे ।
प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको तयारी द्रुतगतिमा गरिरहेको जानकारी दिँदै केही जिल्लाको मतपत्र छपाइका कामसमेत सम्पन्न भई सम्बन्धित जिल्लामा ढुवानीसमेत हुन थालेको उल्लेख गरे । प्रमुख आयुक्त थपलियाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको समर्थन वा विरोधमा सार्वजनिक धारणा कुनै पनि प्रकारका माध्यममा नदिन आग्रह समेत गरे ।
कुनै अमुक दलको समर्थन वा विरोध गरे त्यो निर्वाचन आचारसंहिता विपरीत हुने उनले प्रष्ट पारे । प्रदेश नं। १ सरकारका प्रमुख सचिव डा। रामप्रसाद घिमिरेले निर्वाचन सम्पन्न गर्नका लागि आयोगले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न प्रदेश सरकार र कर्मचारी संयन्त्र प्रतिवद्ध रहेको बताए ।