
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको यो पछिल्लो विनाशकारी प्रहारमा परी ३ जना बालबालिकासहित कम्तीमा १२ जना नागरिकको मृत्यु भएको छ भने ४० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार हालैका हप्ताहरूमा रुसले युक्रेनको ऊर्जा पूर्वाधार, रेल नेटवर्क र सडक यातायातलाई लक्षित गरी आक्रमणहरूलाई तीव्र पारेको छ। यो आक्रमण हालसम्मकै ठूलो र घातक प्रहारहरूमध्ये एक भएको बताइएको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई रुसको ‘अत्यन्त ठूलो र क्रूर प्रहार’ को संज्ञा दिएका छन्। राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी गुप्तचर निकायहरूले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको भन्दै अघिल्लो दिन नै चेतावनी दिएका थिए। सोही पूर्वानुमानका बीच रुसले ऊर्जा संकट निम्त्याउने र जनजीवन अस्तव्यस्त पार्ने रणनीति अन्तर्गत यो आक्रमण गरेको हो।



























