नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताउनुभएको छ ।सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताउनुभएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गर्नुभयो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन–२०८४ बनेको उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यहाँहरुलाई थाहा छ–आज देशको परिस्थिति आजको दिन चाहीँ अलि छिटोछिटो हिँड्न खोजेजस्तो लागिरहेको छ । त्यसो भएर म आज यहाँ आउन पनि ढिला भयो । म यहाँ आएन किन ढिला भयो भने देशको परिस्थिति छिटोछिटो हिँड्न खोज्यो के । त्यसले गर्दा त्यतापटि अलि अल्झायो, अल्मल्यायो । देशका परिवर्तन आवश्यक छ, हुनुपर्छ । परिवर्तन हुन्छ । र जेसुकै परिवर्तन भएपनि हामी मिसन २०८४ छोड्दैनौं । नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य जुन हो । यो मिशन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन । त्यो भन्दा माथिको कुरा छ यो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन २०८४ बनेको हो । त्यो मापन केबाट हुन्छ भन्दा निर्वाचनबाट हुन्छ । मापन हुनेमात्रै निर्वाचन हो । कति भोट, कति सिट भन्ने कुराले कहाँनिर छ भन्ने देखाउँछ । र, त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षले त्यसले देशलाई लिएर जान सक्छ । जनपक्षीय शक्ति, जनशक्ति निर्णायक भयो । राष्ट्रिय शक्ति, प्रगति चाहने शक्ति निर्णायक भयो भने । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने प्रतिगमन हुन्छ । देश त्यस्तै अवस्थामा रहन्छ । दुनियाँमा हाम्रा भन्दा अपm्ठ्यारा अपm्ठ्यारा भौगोलिक, प्राकृतिक, अनेक हिसावले अपm्ठ्यारा ठाउँमा रहेका देश किन अगाडि बढे ? मरुभूमीका देश अगाडि बढे, किन ? हामी किन अगाडि बढ्न सकेनौं ? न्युजिल्याण्ड अहिले पनि उसको प्रमुख स्रोत कृषि नै हो । कृषिबाटै वियर निर्यात गर्ने ठूलो राष्ट्र बन्न भयो । फलफूलको जुस, डेरी प्रडक्ट यस्ता चिजहरु निर्यात गरेर उसले प्रशस्त पैसा कमाएको छ । तर यस्तो उर्वर देश, जहाँ जलस्रोत छ । माटो उर्वर छ । जहाँ धेरै प्रकारका सम्भावनाहरु छन् । विविधता छ क्लाईमेटको । यो विविधताको लाभ लिएर हामी विभिन्न प्रकारका जडिबुटीदेखि लिएर, फलफूलदेखि लिएर, बाली उत्पादनदेखि लिएर, फलफूल, सागपात, अन्नबाली अनेक उत्पादन गर्नसक्छांै । ६० प्रतिशत जनता कृषिमा आधारित छ । ती जनसंख्यालाई अरुतिर सिफ्ट गर्नुपर्नेछ ।’अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गर्नुभयो । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाई थियो । अध्यक्ष ओलीले मजदुरहरुको न्युनतम ज्याला पाउने कुरा समेत कानूनमा व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा हल्ला चल्ने गरेको छ । व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । यो नै गलत भाष्य हो । मजदुरको अवस्था के यस्तै थियो उहिले ? अथवा नेपालमा मजदुर आन्दोलन शुरु भएको ७७ वर्ष अगाडि मजदुरहरुको अवस्था यस्तै थियो ? सामाजिक सुरक्षाको अवस्था यस्तै थियो ? सम्मानित रोजगार, सामाजिक सुरक्षाको प्रबन्ध, अनौपचारिक क्षेत्रमा क्रियाशीलहरुको पनि सामाजिक सुरक्षाको प्रवन्धलगायत सामाजिक सुरक्षाका अन्य प्रवन्धहरु सबैलाई आकर्षित हुने प्रबन्धहरु छन् । ती प्रवन्धहरु समेतबाट के मजदुर वर्गले त्यसबेला लाभ दिएका पाएको थियो ? यो आफ्नो संघर्ष र ती संघर्षहरुमा आफूले पाएको दुःखकष्ट, भोगेको बलिदानका कुरा र त्यसबाट प्राप्त गरेका उपलब्धिहरुलाई आफैले नकार्नु जस्तै हो । त्यसकारण हामीले धेरै महत्वपूर्ण र ठूला उपलब्धिहरु हासिल गरेका छौं । तर अझै उपलब्धिहरु हासिल गर्दै जानुछ । सबभन्दा महत्वपूर्ण कुरा सम्मानित ढंगले काम गर्ने, कामको सुरक्षा र मजदुरहरुका हितहरुको परिवारको सदस्यहरुको जिविका चल्नेगरी स्यालरी यी चीजहरु अझै हामीले प्राप्त गर्न बाँकि छ । त्यो हुनुपर्छ । मजदुरको स्यालरी ज्याला वा पारिश्रमिक नबढदा कसैलाई फाईा हुने होइन, मजदुरलाई नोक्सान हुने हो । मजदुरको ज्याला बढयो भने उसलाई पनि फाईदा हुन्छ, अरुलाई पनि नोक्सान हुँदैन । अव तपाईहरुको आन्दोलन व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने अवस्था होइन । अव तपाईहरुले अवस्थामा फेरबदल ल्याउनु भएको छ । अव अझ राम्रो व्यवस्थाका लागि काम गर्नुछ । पोलिटिक्स मात्रै फेरिएको होइन , पहिलापहिला न्युनतम ज्याला तोकिएको हुन्थ्यो ? समान कामको समान ज्याला पहिले पनि हुन्थ्यो र । बाल श्रमलाई पहिलो पनि अवैध घोषणा गरिएको थियो र ? अनि महिलाहरुले कार्यस्थलमा पहिला पनि सुरक्षित हुने अवस्था थियो र ? त्यसका प्रवन्ध कानूनी हिसावले हुन्थे र ः? यस्ता थुप्रा कुराहरु तपाईहरुले एचिभ गर्नुभएको छ । अब तपाईहरु कानून निर्माणमा, कानून कार्यान्वयनमा, कानून अन्तरर्गत नियमावली बनाउने कुरामा, तिनको कार्यान्वयन गर्ने कुरामा एउटा बलियो शक्तिको रुपमा प्रश्तुत गर्नुभएको छ । र, सफल हुनुभएको छ । ’अध्यक्ष ओलीले शहीदहरुका अधुरा सपना पूरा गर्नका लागि आफूहरुले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई अघि बढाएको बताउनु भयो ।
प्रधानमन्त्रीको टिप्पणीः ‘प्रतिक्रियावादीहरुले उपयोग गर्न खोजे कुनैपनि बेला लात्ताले हानेर निस्कन्छु’
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई विश्वास नगरेको टिप्पणी गर्नुभएको छ ।एमालेसँगको नयाँ सत्तासमिकरण गरेलगत्तै सोमवार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम बोल्दै उहाँले काँग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरुले आफूलाई अविश्वसनीय भन्ने गरेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरुले धरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरुले उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गर्नुभयो । आफूलाई प्रतिक्रियावादीहरुका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रुपमा स्मरण गर्नुपर्ने बताउनु भयो । उहाँले आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याईरहने जिकिर समेत गर्नुभयो । माओवादी बग्दो नदी भएकाले उसले हरेक समयमा उथलपुथल ल्याउने काम गरिरहने प्रधानमन्त्री दाहालले बताउनु भयो । त्यस अवसरमा उहाँले सबै क्रान्तिकारी शक्तिलाई एकतावद्ध हुन पनि आह्वान गर्नुभयो । शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरु एकतावद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो ।
उहाँले भन्नुभयो, ‘हामी सबैले आजको दिन सबै क्रान्तिकारी एक ठाउँमा हुने आवश्यकता छ । खिइँदै, सक्दै, एक्लो हुँदै अनि फेरी ठूल्ठूला कुरा गरिराख्ने ? यो हुँदैन कमरेड । यस्तो बुद्धिले हुँदैन । यो नहुने बुद्धितिर नलागौं । म कमरेड विप्वललाई विशेष रुपले धन्यवाद दिन चाहन्छु–कमरेड विप्लव उठने वित्तिकै तपाईहरुमा एउटा तरंग शुरु हुन्छ । तपाईहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । म त म भइगए आज । न मर्दासम्म देशमा उथलपुथल भई नै रहन्छ । मलाई घेरा हालेर सिध्याउन धेरै पटक कोशिसहरु भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं । तोड्दै जान्छौं । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–ठूला कुरा गर्नु भन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं । त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ । आज शहीद सप्ताहको अन्तिम दिन, हामी सबैले संकल्प गर्ने दिन पनि हो । ती महान शहीदहरुको सपना पूरा गर्न अगाडि बढ्न अठोट गर्ने दिन पनि हो । हामीले कमरेड दिलबहादुर रम्तेलदेखि जनयुद्धको तमाम हजारौं शहीदहरु साथीहरुले त्यो कुरा भन्न किन अप्ठयारो मान्नुहुन्छ– प्रचण्डकै नेतृत्वमा हजारौंलाई राष्ट्रिय शहीद घोषणा गरियो । धन्यवाद प्रचण्ड भन्न तपाईहरुले के ले रोक्छ ? जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस भनेर देशले मनाउने काम भयो । धन्यवाद प्रचण्ड भन्न तपाईलाई के ले रोक्छ ? अहिले पनि छुटेको शहीदहरुको बारेमा अझै हामी राष्ट्रिय शहीद घोषणा गर्दैछौं । हामी समाजवादी मोर्चा मात्रै होइन, बृहत्तर कम्युनिष्ट एकताको पहल पनि गर्दैछांैं । आज तपाईहामी सबैको निम्ति खुशीको दिन हो । पीडा पनि हो, ती हजारौ शहीदहरु, घाइते योद्धाहरु, जेलनेल भोगेका हजारौहजारको जिम्मेवारी हाम्रो काँधमा छ । हामी जीवित रहँदासम्म उनीहरुको सपनाप्रति हामी कहीँकतै घात गर्न सक्दैनौं । आज शहीद सप्ताहको अन्तिम दिन नेपालको राजनीतिमा जुन खालको प्रयासहरु छन । प्रतिगमनकारी भन्छौ हामी । प्रतिक्रियावादी, अवसरवादी, विदेशी प्रभुत्ववादी, साम्राज्यवादी जे भने पनि ती सबैको दवाव, घेराबन्दी, जियोपोलिटिक्स, नयाँ भूराजनीतिक परिवर्तन संसारमा भएको छ । मध्यपूर्वमा कुनै पनि बेला ठूलो युद्ध भड्किन सक्ने अवस्था छ । नेपाल जस्तो भूराजनीतिक अवस्थामा छ दुईटा विशाल छिमेकीको बीचमा । हामीले समूचित र वैज्ञानिक परराष्ट्र नीति अवलम्बन गर्न सकेनौं, स्वतन्त्र र असंलग्न हामीले भनेका छौं । र नेपाली जनतासँग हामीले एकाकार गर्न सकेनौं भने नेपाल कुनै पनि बेला अप्ठयारो स्थितिमा जान सक्छ । त्यसकारण पनि हामी सबै जिम्मेवारी हुन जरुरी छ । पहिलापहिला कम्युनिष्टहरुले दुःख पाउनुको एउटा कारण ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने । माक्र्स एङगेल्सका कुरालाई धर्मशास्त्र जस्तो गरेर, मन्त्रजस्तो गरेर पढी राख्ने, घोकी राख्ने, परिस्थिति कहाँ पुग्यो ? थाहा नपाउने । त्यो माक्र्सवाद होइन । त्यसकारण मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय प्रतिक्रियावादीहरुले भन्ने गर्दछन–धरै नै अविश्वसनीय । कतिखेर कतातिर फर्कन्छ भन्नै नसकिने मान्छे । म त्यस्तो अविश्वसनीय होइन । म नेपालका श्रमिक जनता, नेपालमा महान शहीद बेपत्ता योद्धा र नेपाल राष्ट्रप्रति उनीहरुप्रति इमान्दार हुने कुरामा त म जहिले पनि तयार छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लन सक्छु । त्यसकारण उनीहरुको लागि म छैन विश्वसनीय । हुन पनि प¥या छैन । राष्ट्र र जनताको निमित हो । त्यसकारण आजको दिन हरेक दृष्टिले आज क्रमभंगको दिन हुन गएको छ । हामी सबैले मेहनत गरौं । हामी सबैले मेहनत गरौं । एकतावद्ध हुनुको विकल्प छैन । माओले भनेको एकतावद्ध होउ । माक्सवाद अपनाउ, संशोधनवाद होइन भनेर भन्नुभएको छ । हामी सबैले त्यसलाई आत्मासात गर्न जरुरी छ । लेलिनले ठोस परिस्थितिको ठोस विश्लेषण अघि बढन जरुरी छ भनेर भनेको कुरालाई जरुरी छ । मैले भनेको छु–शान्ति प्रक्रियाका बाँकि काम टुंग्याउनेसँगै शहीद वेपत्ता योद्धाहरुलाई सम्मानित गर्ने, परिपूरण दिने, उहाँका परिवारका सदस्यलाई रोजगारी दिने क्रम पनि अगाडि बढ्नेछ । मैले त्यो संकल्प लिइसकेको छु । मलाई लाग्छ–छिट्टै त्यो संकल्प पूरा हुने दिन आउनेछ । शर्त के हो भने हामी सबै एक ठाउँमा हुनैपर्छ । क्रान्तिकारी जति सबै एक ठाउँमा हुनै पर्छ । अरु कुनै उपाय छैन । त्यसकारण यही अपिल गर्छु ।’प्रधानमन्त्री दाहालले आफूले जनयुद्धका योद्धाहरुको सपना पूरा गर्ने अठोट लिएको पनि दोहो¥याउनु भयो ।
पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्छः सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्ने बताउनुभएको छ ।
सोमवार शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताउनु भयो । उहाँले अहिलेसम्म यो न्याय निरुपण गर्ने काम रहेको आज कानून समितिबाट पास हुनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले शस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरु आज सरकारमा हुँदा पनि कानून निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताउनु भयो । उहाँले शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शाीन्तको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएपनि हालसम्म कानून नबन्नु दुःखको कुरा भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले बितेका दिनहरुमा धेरै प्रतिकुलताहरुलाई व्यहोरेर निरंकुश राजतन्त्र अन्त्य गर्न सफल भएका छौँ । १२ वर्ष भन्दा लामो जनयुद्धको नाममा भएका घटनाहरु पनि शान्तिमा रुपान्तरित भइरहेका छन् । सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरु, शक्ति, नेताहरु आज शासन गर्ने ठाउँमा पुग्नुभएको छ । तथापि देशमा हिजोको द्वन्द्वलाई अन्त्य गरी स्थायी शान्ती कायम गर्ने बाटोमा केही बाधाहरु रहेका छन् । शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शाीन्तको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएको थियो । त्यो ०६३ मा घोषणा भएपनि त्यसले साकार रुप लिन वा ऐन बन्नको लागि ८ वर्ष कुर्नुप¥यो । ०७१ सालमा ऐन बन्यो । आयोगहरु बने । आयोग बनेपछि द्वन्द्वको कालमा भएका घटनाहरु समाधान गर्ने, पीडित परिवारले न्याय पाउने वातावरण बनाउन कोशिस भएपनि निरुपण नहुँदै आयोगले काम गर्दैगर्दा आयोग विघटन भएको छ । यसरी घोषणा भएको करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म यो न्याय निरुपण गर्ने काम भएको छैन । पीडितहरुलाई महशुस हुनेगरी पीडितको पक्षमा कानून बन्नुपर्छ । अहिले विधेयक संशोधनको रुपबाट छलफलमा छ । कानून समितिबाट टुंगिने क्रममा छ ।’कानून निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने बताउनु भयो ।
राष्ट्रिय सभाका १९ जना सांसदहरूले गरे शपथग्रहण
राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गर्नुभएको छ ।
संघीय संसद भवनको ल्होत्से हलमा सोमवार राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । आईतवारदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो । रिक्त गत माघ ११ गते २० जनाको पदमध्ये १९ जना निर्वाचनमार्फत निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी नै छ । राष्ट्रिय सभामा नयाँ सदस्यहरुमा रुकमिणी कोईराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा रहनुभएको छ ।
अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो
चिसो मौसम र हिमपातका कारण अफगानिस्तानमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । देशका केही भागहरूमा जाडो जारी रहेको बताइएको छ । राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सैकले यसबारेमा जानकारी दिनुभएको हो । ३० जना घाइते भएका उहाँले बताउनु भयो । चिसो मौसमका कारण ६३७ घर ध्वस्त भएका छन् भने १३ हजार ८८९ गाईवस्तु मरेका छन् ।
बाइट... मुल्लाह जान साइक, अफगानिस्तानको राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता
थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न र उनीहरूका पशुपंक्षीलाई घाँसलगायत सहयोग उपलब्ध गराउन सक्दो प्रयास गर्ने अधिकारीले बताउनु भयो । अफगानिस्तानका केही भागमा गत आईतवारदेखि वर्षा र हिमपात भइरहेको छ ।
गाजामा युद्धविरामका लागि प्रयास जारी छः टर्की
टर्कीका विदेशमन्त्री हाकान फिदानले मार्च ११ मा शुरु हुने रमजानअघि गाजा पट्टीमा युद्धविराम हासिल गर्न गम्भीर प्रयास भइरहेको बताउनुभएको छ । टर्कीको दक्षिणी शहरमा आयोजित एन्टाल्या डिप्लोमेसी फोरमको समापन कार्यक्रमको आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गर्नुभएको हो । शुक्रबार इजिप्टका विदेशमन्त्री समेह शौकरीले पनि रमजानअघि गाजा पट्टीमा युद्धविरामको आह्वान गर्नुभएको थियो ।
शाहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उम्मेदवार शाहबाज शरीफ पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदनबाट आईतवार भएको मतदानमा पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिकले आईतवारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरी पीएमएल–एनका अध्यक्ष शरीफले चुनाव जितेको घोषणा गर्नुभयो । शरीफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफका संयुक्त उम्मेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए । ३३६ सदस्यीय राष्ट्रिय सभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरीफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए । यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि नयाँ सदन बनेपछि शुक्रवार राष्ट्रिय सभाका सदस्यहरूले सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित गरेका थिए ।
सुडानका सेना प्रमुखद्वारा एयुमा सदस्यता पुनःस्थापित गर्न आग्रह
सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले आईतवार अफ्रिकी संघ (एयु) मा सुडानको विश्वासमा जोड दिँदै क्षेत्रीय संगठनमा सुडानको पूर्ण सदस्यता पुनःस्थापित गर्न आह्वान गर्नुभएको छ । अल–बुरहानले शहर पोर्ट सुडानमा मोहम्मद इब्न चाम्बासको नेतृत्वमा सुडानमा द्वन्द्वको समाधान गर्ने एयु उच्चस्तरीय प्यानलको प्रतिनिधिमण्डललाई भेट्दा उक्त टिप्पणी गरेको सार्वभौम परिषद्ले जनाएको छ । अल–बुर्हानले अफ्रिकी संघमा सुडानको विश्वास र यसले प्रश्ताव गर्नसक्ने समाधानहरू व्यक्त गर्नुभयो । अल–बुर्हानले समाधानको आधार उनीहरूले कब्जा गरेका शहर र गाउँहरूबाट अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) फिर्ता गर्नु रहेको बताउनु भयो ।
कानून निर्माण र संविधान कार्यान्वयनमा भुमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको प्रतिवद्धता
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन् ।सोमवार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरुले संविधानको पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरुको भुमिका हुने बताएका हुन् । उनीहरुले संघीयताको कार्यान्वयन, शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन र स्थानीय तह तथा प्रदेश सरकारको समस्या समाधानका लागि पनि आफूहरुको भुमिका हुने बताएका छन् । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कानूनहरु नबनेका कारण संघीयता र संविधान कार्यान्वयनको सन्दर्भमा गुनासो आएको भन्दै आफ्नो ध्यान यसैमा बढि केन्द्रीत हुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संविधानको पूर्ण रुपले कार्यान्वयन गर्नुपर्छ । त्यसमा आवश्यक कानून निर्माण गर्ने कुरामा राष्ट्रिय सभाले भुमिका खेल्नुपर्छ । मुख्य कुरा त प्रतिनिधि सभाबाटै आउने हो बिलहरु, सरकारले ल्याउने हो । त्यसलाई द्रुत गतिले अगाडी बढाउनुपर्छ भन्ने मलाई लागेको हो । संघीयता कार्यान्वयन गरेन, संविधानको उपलब्धि सकिन लाग्यो भनि जति गुनासो छ, संविधानसँग जोडिएका कानुनहरु नबनेका कारणले र नीतिहरु नबनेका कारणले हो भन्ने मलाई लाग्छ । त्यसमा मेरो बढी ध्यान जान्छ ।’राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले राष्ट्र र जनताको पक्षमा विधि, विधान बनाउन भुमिका खेल्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा सदस्यको रुपमा दुईवटै सदन र सरकारसँग समन्वय गरेर काम गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो भुमिका विधि, विधान, जनताको पक्षमा, राष्ट्र र राष्ट्रियताको पक्षमा पार्टी नभनिकन यो गरिमामय सभाले सहि कुरालाई समर्थन गर्ने, गलत कुरामा छलफल गरी विचार, विमर्श गरी दुईवटै सदन र सरकारसँग समन्वय गरेर जाने कुरा हाम्रो जिम्मेवारी हो ।’राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक र गरिमामय बनाउन आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु टुंग्याउनका लागि आफूले भुमिका खेल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक, गरिमामय बनाउने छु । शान्ति प्रक्रियाका कामहरु धेरै छन् टुंग्याउन । त्यसको निम्ति पनि मैले भुमिका खेल्नेछु । जुन वर्ग र ठाउँबाट म उपस्थित भएँ । त्यसको निम्ति म सदा–सदा निष्पक्ष तरिकाबाट अगाडी बढ्नेछु । र ति आवाजहरु उठाउनेछु ।’राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले तिनै तहको सरकारलाई व्यवस्थापनका लागि नीति, निर्माणको तहबाट भुमिका खेल्नुपर्नेमा आफ्नो जोड हुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘प्रदेश सरकार र स्थानीय तहको समस्याहरु, उहाँहरुले पाउने अधिकारहरु जुन संविधानले उल्लेखित गरेका अधिकार, संघीय कानूनहरु बनेका छैनन् । निजामती कर्मचारी ऐन बनेका छैन् । प्रहरीको ऐन बनेको छैन । स्थानीय सरकार राम्रो चल्न सकेको छैन । त्यसलाई व्यवस्थापन मिलाउनुपर्छ । र त्यसतर्फ हामीले काम गर्नुपर्छ । संविधानलाई व्यवस्थित गर्न केही अपm्ठ्याराहरु छन् । त्यसलाई व्यवस्थित गर्दै जानुपर्छ ।’संविधानलाई व्यवस्थित बनाउनुपर्ने पनि अवस्था रहेको भन्दै आफ्नो ध्यान त्यता नि रहने उहाँको भनाई छ ।
जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक होः महासचिव विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ ।सोमवार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहिन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताउनुभयो । उहाँले देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताउनु भयो । उहाँले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताउनु भयो । उहाँले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान हो यो । अहिले मान्छेहरुले के भन्छन् भने जनयुद्धलाई त औचित्यहिन भन्न थाले । जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरी इतिहासको मजाक जस्तो लाग्छ मलाई । कस्तो फिल हुन्छ भने नायकहरु अपराधीजस्तो । र अपराधीहरु नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ नि । उल्टिएको छ तर सम्भव छैन । इतिहासको मूल्य फरक कुरा हो । त्यो केही लाछि मान्छेहरु, क्रान्तिमा हारेका मान्छेहरु, पछारिएर धुरमुरिदैँ उठेका अन्धाहरुले भनेजस्तो कुरा होइन त्यो । अरु विदेशी तत्वहरुले गुन्गुनाउने कुरा जस्तो होइन त्यो । कुण्ठा पोख्ने विषय होइन त्यो । जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भुमिका छ । तर जो मान्छेहरुले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् नि तिनीहरु सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरी सिद्धिएका थिए नि, ति मान्छेपनि त्यसरी नै समाप्त हुन लायक हुन्छन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड छ । दलाल पुँजिवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, क्रान्तिकारीहरु, कम्युनिस्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागि छ । हाम्रो गन्तव्य संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै होइन, हाम्रो सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्ग विहिन, शोषणविहिन, देशविहिन, जाति विहिन साम्यवादमा पु¥याउने हाम्रो आदर्श छ । हामी त्यसमा जान चाहान्छौँ । तर आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर, देशलाई अरुअरुको जिम्मा लाएर जान सकिदैनँ । यो कुरा स्पष्ट हो । यसको नेतृत्वपनि क्रान्तिकारीहरु, समाजवादीहरु, कम्युनिस्टहरु, वामपन्थीहरु, देशभक्त, गणतन्त्रवादीहरुले नै गर्नुपर्छ भन्ने हाम्रो सुस्पष्ट धारणा छ ।’उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताउनु भयो । आफूहरुको लक्ष्य मुलुकलाई साम्यवादसम्म पु¥याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उहाँको भनाई छ ।
नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रको निर्णय
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ ।सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडी बढ्ने निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउँदै ध्रुविकरणको दिशामा लैजानका लागि नयाँ गठबन्धन गर्न लागिएको बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको बजेट, नीति तथा कार्यक्रममार्फत सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘पदाधिकारी बैठकमा नयाँ गठबन्धन बनाएर अगाडी बढ्ने । कयौँ चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडी बढाउनको निम्ति सरकारको प्रशंगलाई जोड्दै वामपन्थीहरुको ध्रविकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समिकरण बनाउने निर्णय ग¥यौँ हामीले । त्यसको औपचारिकता दिन त गठबन्धनको बैठक बसिराखेको छ । तर हामी नयाँ गठबन्धनतिर जाने, शान्ति प्रक्रिया टुंग्याउने, बजेट, नीति, कार्यक्रममार्फत जनताका डेलिभरीका कामहरुमा नयाँपन दिने । त्यसको साथसाथै धर्म निरपेक्षता, समावेशि, समानुपातिकजस्ता विषयहरुको बारेमा जो नेपाली कांग्रेसभित्र छलफल चल्यो त्यसले संविधान प्रतिकुल हुने प्रकारका संकेत देखिएको र कोशी प्रदेशमा देखिएका कतिपय परिघटनाहरुको पनि समिक्षा गर्दै नयाँ गठबन्धनमा जाने निर्णय हामीले ग¥यौँ ।’
सचिव पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताउनु भयो । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि काँग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘कोशी प्रदेशमा भनेजस्तो भएन । उहाँहरुले त्यसलाई महशुस गर्नेतिर जानुभएन । सरकारलाई प्रभावकारी बनाउने कुरामा पनि अर्थमन्त्रालयले जसरी प्रधानमन्त्रीलाई सहयोग गर्नुपथ्र्यो, डेलिभरी दिने कुरामा अर्थमा गएर धेरैकुरा अल्झियो । त्यो पनि दोस्रो कारण बन्यो । तेस्रो कारण भनेको काँग्रेसको महासमितिको बैठकले जनयुद्धलाई गलत प्रकारले टिप्पणी गरिदियो । त्यो कारणले नेपालमा विकास भएन । त्यो हिंसा थियो भन्ने आशयको उहाँहरुले प्रतिवेदन पारित गरेर आउनुभयो । महाधिवेशनमा उहाँहरुले हिन्दु राज्य चाहिन्छ भन्ने कुरामा बहुसंख्यकले हस्ताक्षर गरेर दिनुभयो । त्यसले राजनीतिक वैचारिक रुपमा हामीलाई अर्को पक्षसँग मिल्नका लागि प्रेरित ग¥यो ।’
उहाँले नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने नसमेट्ने स्पष्ट पार्नुभयो । गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रुपमा भन्यौँ काँग्रेस छोड्नु र राप्रपा ल्याउनु झन प्रतिगमनकारी हुन्छ । राप्रपासँग कतिपय अरु गणितिय प्रशंग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रुपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरु हुनुहुन्छ । त्यसकारण सरकार बनाउने कुरा उहाँहरुसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ ।’
उहाँले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)लाई भने गठबन्धनमा ल्याउन प्रयास भइरहेको बताउनु भयो ।
तेस्रो सर्किट लागेसँगै ११७.७० अंकले बढेर नेप्से सोमवारको लागि कारोबार बन्द
नेप्से परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेसँगै सोमवारको लागि कारोबार बन्द भएको छ ।सोमवार नेप्से परिसूचकको कारोबार खुलेको ३ मिनेटमा नै ४ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । त्यस्तै २० मिनेटपछि कारोबार खुलेपश्चात १ मिनेटमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागरे ४० मिनेटको लागि कारोबार बन्द भएको थियो । दोस्रो सर्किट पश्चात खुलेको नेप्से कारोबार १ मिनेटको अवधिमा ६ प्रतिशतले वृद्धिभएसँगै सोमवारको लागि नेप्से कारोबार बन्द भएको छ । सोमवार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ । लोमो समयदेखि पुँजीबजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो ।
एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । सोमवार ११ बजे खुलेको बजार ३ मिनेटमै ४ प्रतिशतभन्दा बढीले सूचक उकालो लागेपछि २० मिनेट बन्द भएको थियो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको छ । ११७.७० अंकले बढेको नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सोमवार कारोबारमा आएका २३७ कम्पनी मध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा २ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । सोमवारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ । त्यस्तै,१३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । —न्युज एजेन्सी नेपाल