काठमाडौं - मंसीर ४ को निर्वाचनलाई लिएर अहिले जनताको सबैभन्दा बढी चासोको विष भनेको आफूलाई वैकल्पिक शक्ति भन्नेहरु एक ठाउँमा उभिएर चुनाव लड्न सक्छन् कि सक्दैनन् भन्नेमा रहेको पाइन्छ । यदि रवि लामिछाने, पुण्य प्रसाई, रमेश खरेल र अरु सबै स्वतन्त्र समूह मिलेर चुनावमा जाने परिस्थिति सृजना गर्न सकेमा त्यो नेपालको दोस्रो ठूलो शक्ति बन्न सक्ने आँकलन धेरैको रहेको छ । र यी छरिएका शक्ति मिलेनन् भने यिनीहरुको एउटा पनि सिट नआउने आँकलन पनि धेरैको रहेको छ । तर यिनीहरुको मिल्ने संभावना कति छ ? यो चासोको विषय बनेको छ । केही दिन अघि बोलाइएको एक गोलमेचमा रविले आउनै चाहेनन् भन्ने पनि चर्चा थियो तर अन्य सहभागी भने उनको बचाउ गर्दै रवि सिरियस छन् भन्छन् । तर सूत्रका अनुसार रविले अरुलाई कुनै महत्व नदिएको भन्ने पनि छ । तर प्रसाई भने यसरी सोच्दैनन् । भन्छन्, ‘प्रक्रिया नमिलेको मात्र हो सबैको मत मिल्नु पर्छ भन्ने मा नै रहेको छ ।’ एक चरण समय घर्कि सकेको छ अब समय धेरै छैन यिनीहरुले कतिको बुद्धिमत्ताको प्रयोग गर्ने हुन् हेर्न बाँकी छ । तर यस कुरालाई पहिलादेखि नै बुझेका सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाई भने सबैलाई मिलाउनमा हदैसम्मको जोडबल गरिरहेका छन् । यसका लागि उनले आफ्नो फेसबुक पेजमा एउटा लामो स्टाटस् समेत लेखेको छन् ,
सबै सबैमा नमस्कार, साथीहरु हामी ढिलो गरिरहेका छौं । आमा चुनाव चिन्ह नै अन्तिम सत्य हो भनेर बढिरहनु भएका, पुण्य प्रसाई र रमेश खरेलज्यु, घन्टीलाई अन्तिम सत्य मानिरहनु भएका रवि लामिछानेज्यु, लौरो चिन्ह नै अन्तिम सत्य हो भन्ने ठानिरहनु भएका भीम उपाध्यायज्यु, सुमन सायमी, डम्बर साहु र अन्य स्वतन्त्र समूहका साथीहरु यहाँहरु सबैलाई म पुण्य प्रसाई हार्दिक अनुरोध गर्छु, यी चुनाव चिन्हहरु सत्य होइनन् सत्यमा पुग्नका लागि हामीले प्रयोग गर्न चाहेका साधनमात्र हुन् । तपाईंहरु सबैको पवित्र उद्देश्य छ, हामी सबै यो भ्रष्ट सत्ता, यो परम्परागत शैलीले देशलाई यथास्थितिको बन्धक बनाएर दोहन गरिरहेको ठूलो शक्तिसँग लड्न गइरहेका छौं । तपाई हामी तिनतिर आफूआफू लडेर, एकअर्काको छारो उडाएर यो क्रुर र अपराधीको नियन्त्रणमा रहेका सत्ता ढल्दैन । यसका लागि तपाई हामीले संयुक्त प्रयास गर्नुपर्छ । यदि हामी सांसद हुनका लागि वा आक्रोस र उत्तेजनामा मात्र राजनीति गर्न मात्र खोजिरहेका हौं भने चार गतेपछि हामी सबैका सिंग फुक्लिसकेका हुनेछन् । हामी ठूला दलसँग होइन एकआपसमा लड्ने छौं जुन ठूला दलको पनि चाहना हो । उनीहरु हामीलाई अझ जोडले भन्नेछन्, सिस्टम बिगार्न आएका अराजक समूह भनेर । उनीहरु वैकल्पिक आन्दोलनको अझ मजाक उडाउने छन् । यदि वैकल्पिक राजनीतिलाई स्थापित गर्ने हो भने हामी एक भएर एउटै चुनाव चिन्हबाट लड्न जरुरी छ । हामी हामी लड्दा हामी आफ्ना भोटरलाई समेत आकर्षित गर्न त सक्दैनौ नै साथै जुन वैकल्पिक राजनीतिलाई आउने पक्का भोट छ त्यो पनि विभाजित हुन्छ । र युसको स्पष्ट फाइदा पुराना दलले उठाउँछन् । यदि हामी कसैका लागि प्रयोग मात्र भइरहेका होइनौ भने दर्ता भएकै भए पनि छोडेर जुन भए पनि एउटा चुनाव चिन्ह रोजेर यो निर्वाचनमा होमिने साहस हामीले गर्यौं भने यो हामीले मातृभूमिको दूधको भार तिरेका हुनेछ । जुनकीरी जस्तो झिनो आशाले हामीलाई हेरिरहनु भएका नागरिकले हामीलाई आशीर्वाद र धन्यवाद दिनुहुनेछ । र, भन्नु हुनेछ ठूला पार्टीहरु देश बिगार्न मिल्छन् तर सानाहरु देश बनाउनका लागि मिल्न सक्छन् । नयाँ होप जानेछ । नागरिकमा आशाको संचार हुनेछ । साथीहरु, राजनीति त हामी गर्दै गरौंला तर नागरिकको भावना र आकांक्षा अनुसार यो निर्वाचनको सही सदुपयोग हामीले गर्न जानेनौं भने नागरिकको आँखामा हामी र तथाकथित ठूला दल बीच कुनै फरक रहँदैन । त्यसकारण हदैसम्म लचिलो भएर हामी मिलेर अघि बढौं । यदि हाम्रो राजनीति ठूला पार्टीको जस्तो पेशा नभएर देश र नागरिकको सेवाका लागि हो भने आफ्ना अंह छोडेर हामी किन मिल्न सक्दैनौं ? यो मेरो मात्र होइन प्रत्येक नागरिकको प्रश्न हो । हामीसँग निकै कम समय बाँकी छ त्यसैले रातोदिन छलफलमा बसौं र मिलेर एउटा आशाको दियो बालौं । यसपालि हामी बदल्छौ तर त्यो कथा बदल्न हामी मिलेर अघि बढ्नु पर्छ ।
पुण्यप्रसाद प्रसाई
प्रतिनिधि सभा उम्मेद्वार काठमाण्डौ क्षेत्र नम्बर २