काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुन क्षेत्रबाट उठ्छन् होला भन्ने कौतुहलता रविका फ्यानमा मात्र होइन सर्वसाधारणमा समेत थियो । चितवनमा प्रचण्डको क्षेत्रबाट उठ्छन होला रवि भनेर एकताका चर्चा पनि निकै चलेको थियो तर एकाएक नयाँ समाचारले सनसनी फैलिएको छ । परम्परागत पार्टीहरु बाहेकका सबै वैकल्पिक राजनीतिक पार्टी र स्वतन्त्र समूहहरु मिलेर एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएर वैकल्पिक शक्तिको सरकार नै बनाउनु पर्छ भनेर डा. सुरेन्द्र केसी, रमेश खरेल, रवि लामिछाने, स्वागत नेपाल सहित विभिन्न स्वतन्त्र समूहसँग वार्ताको प्रयास गर्ने र अझै पनि प्रयास गरिरहेका सचेत नेपाली पार्टीका अध्यक्ष सर्वपहिचानवादका अविष्कारक पुण्य प्रसाईले उम्मेद्वारी घोषणा गरेको काठमाण्डौ क्षेत्र नम्बर २ बाट नै रवि लामिछानेको उम्मेद्वारी हुने चर्चाले अहिले सर्वसाधरणलाई आश्चर्यमा पारेको छ ।
हाम्रा अहंकार छोडेर मिल्न सकिएन भने हाम्रो प्रयास बालुवाको घर जस्तो हुन्छ भनेर मिल्नका लागि आफ्नो पार्टीको नाम, नेतृत्व र चुनाव चिन्ह समेत छोडेर स्वतन्त्र राजनीतिक शक्ति नेपाल बनाएर संयुक्त चुनाव चिन्ह “आमा” निक्र्योल समेत गरेर पुराना पार्टी विरुद्ध दरिलो मोर्चा तयार गर्न संघर्ष गरिरहेका पुण्य प्रसाईको क्षेत्र नै रविले किन चाहे ? यो रहस्यमय बनेको छ ।
कुनै शक्ति छ जसले हामीलाई मिल्न दिइरहेको छैन भनेर चिन्तित बनेका प्रसाईले रोजेको काठमाण्डौ निर्वाचन क्षेत्रबाट रवि समेत लड्ने कुराले प्रसाई आफू आश्चर्यमा चाहिं नपरेको बताउँदै भनेका छन्, रविजी नेपालका १६५ क्षेत्रमध्ये कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन सक्नु हुन्छ । यो उहाँको अधिकार हो । म चाहिं को हुँ र मलाई सबैले छोड्नु पर्ने ? सबैले छोडे भने त फेरि त्यो दयामायाले म मनोनित भको जस्तो होला । मेरा लागि निर्वाचन भनेको राजनीति शास्त्रमा पिएचडी गर्न लागेको जस्तो पनि हो अर्थात् अलिक ठूलो विश्वविद्यालयमा पढ्न गएको जस्तो । मैले सबैलाई मिलाउने प्रयास गरेको हुँ मिल्न सकिएन अब मिल्न नसकेपछि प्रतिस्पर्धा त गर्नै पर्छ । प्रतिस्पर्धा गरेपछि दुवैजनाले जित्ने भन्ने त हुनै सक्दैन त्यसैले मेरो चाहना के हो भने रविजी जितेर संसदमा हुनुपर्छ । र, काठमाण्डौं क्षेत्र नम्बर २ को हार्ने चुनावी प्रतिस्पर्धामा उहाँले भाग नलिएर अन्त कतै अलिक सुरक्षित क्षेत्र रोज्नु पर्छ । र, त्यो क्षेत्रमा हामी हाम्रो उम्मेद्वारी दिंदैनौ र उहाँको प्रचारमा पनि सहयोग गर्छौं । काठमाण्डौ क्षेत्र नम्बर २ का नागरिकले त मलाई स्पष्ट भनिरहनु भएको छ यहाँ जो आए पनि हामीले यसपालि संसदमा तपाईलाई पठाउने हो । काठमाण्डौ क्षेत्र नम्बर २ का नागरिक त भनिरहनु भएको छ, यसपालि हाम्रो सासद पुण्य प्रसाई ।
स्वतन्त्र राजनीतिक शक्ति नेपालका तर्फबाट काखमा बच्चा बोकेकी आमा चुनाव चिन्ह लिएर मैदानमा उत्रिने घोषणा गरेका पुण्य प्रसाईले यही भदौ १० गते शुक्रबार सिद्धार्थ होटल तिनकुनेमा दिउँसो १ः३० बजे उम्मेद्वारी घोषण सभाको समेत आयोजना गरेका छन् । उनको यस उम्मेद्वारी घोषणा सभामा डा. सुरेन्द्र केसी, डा.राजेश अहिराज, रमेश खरेल र हेमराज थापा प्रमुख वक्ता रहने छन् ।