काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरकानूनी कार्यको विरुद्धमा काठमाडौंका कवाडी व्यवसायीहरु आन्दोललित भएका छन् । आज सडकमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडी नै धर्ना दिएका छन् । कवाडी व्यवसायीमाथि महानगरले गैरकानूनी रुपमा दमन गरेको बताउँदै उनीहरुले आन्दोलनलाई थप कडा बनाउँने घोषणा समेत गरेका छन् । सुन्धारास्थित महानगर कार्यालय अगाडि धर्ना दिएका व्यवसायीहरुले त्यसअघि र्याली निकालेका थिए । बुद्धनगरस्थित बाग्मती करिडोर नजिकैको पुलबाट निस्केको र्याली थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरको कार्यालय अगाडि पुगेको हो । त्यहाँ उनीहरुले महानगर विरुद्ध चर्को नारावाजी समेत गरेका छन् ।‘गैरकानुनी कार्य गर्नेहरु होसियार’, ‘कवाडीमाथि डोजर चलाउन बन्द गर’, ‘कवाडी एकता जिन्दावाद’, ‘कानुनी शासन लागू गर’, जस्ता नारा लगाएका छन् । कवाडी व्यवसायीहरुको जारी आन्दोलनमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले समर्थन गरेको छ । कतिपय आजपाका नेताकार्यकर्ता समेत आन्दोलनमा सहभागि भएका छन् । कवाडी व्यवसायीहरुको आन्दोलनमा नारा लगाउँदै आजपा उपमहासचिव चन्द्रभुषण साह समेत देखिएका छन् । आजपा अध्यक्ष प्रभु साहले बिहिबार काठमाडौंमा कवाडी व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै आन्दोलनमा समर्थन जनाएका थिए । ‘घर–घरबाट काम नलागने कावाड़ी समान किनेर काठमाण्डौंलाई सफा राखने कवाड़ी ब्यवसायीहरुलाई सम्मान गर्नुको सट्टा त्रसित र आतंकित पार्नु दुःखद हो । आम नागरिकको संवैधानिक हकलाई हनन गर्ने अधिकार कसैलाई छैन । यसर्थ कवाडीहरु माथी भईरहेको गैरकानुनी हस्तक्षेप तुरुन्त रोकन सरकारको ध्यान जान जरुरी छ । तपाईहरुको आन्दोलनमा पार्टीको समर्थन छ ।हामी तपाईहरुको साथमा छौं’ साहले भनेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा समेत आजपा अध्यक्ष साहले कवाडी व्यवसायीहरुको आन्दोलनमा समर्थन जनाउँदै उनीहरुको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् । काठामाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गर्दै साहले भने, ‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाडी व्यवसायीहरुमाथि डोजर चलाइएको छ ।कतै सुकुम्बासीहरुलाई आतंकित बनाईएको छ । महानगरपालिकामाथि कानून लाग्छ कि लाग्दैन् ? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस् भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाडी व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होईन ?’