काठमाडौं । आम जनता पार्टी (आजपा)ले रामपृत राम र कुन्दन कुशवाहालाई कारवाही गरेको छ । पार्टी विधान, नीति तथा कार्यक्रमका बिरुद्धमा लागेकाले राम र कुशवाहालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ । आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक बिज्ञप्ती जारी गर्दै राम र कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको जनाएका छन् । राम आजपाको उपाध्यक्ष रहेको जिम्मेवारी रहेका थिए भने कुशवाहा पार्टीको उपमहासचिव र मधेस प्रदेसका पूर्व सांसद समेत हुन् । ‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरुमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुल्लो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ । यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरुमा संलग्न रहेको विषय पुष्टि भएकोले रामपृत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको छ’ प्रवक्ता साहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।