काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले आफैंले प्राथमिकतामा राखेको छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ ? भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न समेत गरेका छन् ।आजपा अध्यक्ष साहले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालिन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताए ।सम्बोधनको क्रममा उनले सरकारले भनेका उच्च प्राथमिकताका विधेयकहरु कहाँ छन् ? भन्ने प्रश्न गर्दै उनले भने, ‘प्रधानमन्त्री बनिराख्दा त्यतिवेला सम्माननीय प्रधानमन्त्रीज्यूले यो सदनमा भन्नुभएको थियो कि संक्रमणकालिन न्याय टुँगो लगाउँछु भन्नुभएको थियो । संवैधानिक परिषदसम्बन्धी विधेयकपनि उच्च प्राथमिकतमा छ भन्नुभएको थियो । ती विद्येयकहरु कहाँ छन् भनेर सोध्न चाहन्छु । के हामीले यो संसद्लाई साँच्चिकै प्रभावकारी बनाईराखेका छौं ? हामी सांसदहरुले आफ्नो क्षमतालाई माथि उठाइराखेका छौं त ?’उनले सांसदहरुले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गरेका छन् ।‘अहिले संसदको विधेयक अधिवेशन करिब करिब अन्तिम चरणमा छ । केही दिनपछि यो संसदको अधिवेशन अन्त्य हुन्छ । हामी आफ्नो निर्वाचन क्षेत्रमा जान्छौं । जनतामा जान्छौं । जनतामा जाँदा हामीले के भन्ने ? संसदको यो अवधिमा हामीले के के गर्यौं ? सभामुखज्यू, जनतालाई के काम गर्यौं भनेर सुनाउने ?’ आजपा अध्यक्ष साहले भने, ‘निर्वाचनपछि झण्डै तीन वटा अधिवेशन भैसकेको छ । अहिलेसम्म हामीले चार वटामात्रै विद्येयक पारित गर्यौं । ती विधेयकपनि (संशोधन) केही दफा संशोधनसम्बन्धी पारित गर्यौं । त्यसमा पनि विगतमै उत्पति भएका विधेयकहरु पारित गर्यौं । के यही सुनाउन जाने जनतामा ? सरकारले जम्मा १९ वटा विद्येयक ल्याएको देखियो । हामी सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको जरुरी प्रस्तावले पनि महत्व पाएनन् । विशेष प्रस्तावले पनि महत्व पाएन ।’पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले विषय विज्ञहरुलाई सांसदको स्वकिय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुलाई विज्ञ कर्मचारी दिन माग गर्दै उनले छानिएर आएकाहरुलाई जान्ने बनाउनको लागि पनि कर्मचारी दिन उनको सुझाव छ । उनले सांसदहरुको क्षमतालाई माथि उठाउने काममा सदनको ध्यान जानुपर्नेमा जोड दिए ।सांसद साहले सांसदहरुलाई दिईएको स्वकिय सचिवको काम के हो भनेर सभामुखसँग प्रश्न सोधेका छन् । ‘स्वकिय सचिवको काम के हो ? यदि काम छैन भने राखेर के काम ? कि त पिएहरुलाई फिर्ता गर्नुपर्यो कि त उनीहरुलाई काम दिनुपर्यो । माननीय सदस्यहरु विधेयकमा बोल्ने भनेको विज्ञ हुनुपर्छ कि पर्दैन ?’ साहले भने, ‘हामी हेरिरहेका छौं कि सांसदहरु बसेर काम गर्ने ठाउँ छैन् । दलको अफिस छ, कुनै कार्यकक्ष होईन । यहाँ लविमा बस्नुहोस, या लाईब्रेरीमा जानुहुन्छ, बस्ने ठाउँ छैन् । के पढ्ने ? के बुझ्ने अनि के बोल्ने भन्ने प्रश्न आउँछ । हामी सांसदहरुलाई तमाशा बनाईराख्ने हो र ? हुर्मत लिने हो र ?’सांसद साहले कतिपयले जान्नेलाई छान्नुपर्छ भनेको कुरा उल्लेख गर्दैै जान्नेहरुको पनि हालत हेरिएको टिप्पणी गरे । ‘कयौंले भन्छन् कि जान्नेलाई छान्नुपर्छ भनेर । हामीले त जान्नेहरुको पनि हालत हेरेकै छौं । एउटा विषयको पिएचडी हुँदैमा सबै विषयको विज्ञ हुनैसक्दैन् । त्यो छानेकालाई जान्ने बनाउने कि नबनाउने भन्ने प्रश्न आउँछ । यी सांसदहरुलाई विज्ञको सुविधा दिनुहोस । कर्मचारीहरुको कमी छैन् । यत्तिकै कामविहीन भएर कर्मचारीहरु बसिरहेका छन् । सांसदलाई हामी एउटा उपसचिव दिन सक्दैनौं ? एउटा सांसदलाई पाँच वटा विज्ञ दिन सक्दैनौं ? यहाँ एउटा विषयमा बहस हुँदा अर्कै विषय उठाउँदा संसद् र सभामुखको पनि मानमर्दन हुन्छ कि हुँदैन् ? यो विषयले हामीलाई छुँदैन र ?’ उनले प्रश्न गरे ।