
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताउनुभएको छ ।आइतबार काठमाडौँमा आयोजित पेसागत महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो । उहाँले अहिले सहमतिका साथ जानु नै राम्रो हुने भन्दै सहमतिका साथ अघि नबढे ठूलो संकटमा परिने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा छलफल गर्ने ढोका नखोल्ने हो भने के–के संवंधानिक जटिलता खडा हुन्छन् भन्ने कुरा ध्यानमा राख्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष नेपालले संसद् अवरोधका विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि आफ्नो कुराकानी भएको भन्दै सदनको अवरोध हटाउनु नै सबैको हितमा हुने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नहरु सराहनीय रहेको बताउुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा भएकाले आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पनि स्पष्ट पार्नुभयो । उहाँले नैतिकताको प्रश्न पनि खडा हुने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र द्विविधा नपाल्न आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले मंगलबार चौथो पटक विश्वासको मत लिने तयारी गर्नुभएको छ । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको स्मरण गर्दै कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको बताउनुभयो ।अध्यक्ष नेपालले सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । आफूहरुले देशमा स्थिरता, सहमती र सहकार्य होस भन्ने चाहेकाले देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुन आवश्यक रहेको उहाँको भनाइ छ ।




























