चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चौथो मुद्दा दर्ता भएको छ । उनीविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता भएको हो । चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।साहारा सहकारीको रकम अपचलन कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने सहितका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा पेस गरेको हो।सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो।यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । रवि लामिछाने किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था छन् । उनीहरू विरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको विश्वकर्माले बताए । उक्त मुद्दामा बुधबारदेखि बहस हुने उनले बताए ।