काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।त्यस्तै, कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै आज प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ । बिहान ९ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुदैछ ।आज नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुदैछ ।