
रौतहट । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ । रौतहटको मौलापुरको पतौरा स्थित श्री जवाहर आधारभुत बिधालयमा आज सम्पन्न मौलापुर नगरस्तरीय आईटी आर्मीको भेलाले मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलालाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए ।बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिए । बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिए । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो । सो भेलामा आजपा महासचिव उपेन्द्र साह, सचिव एवं संविधान सभा सदस्य समिना हुनेस लगायतको विशेष सहभागिता रहेको थियो । भेलामा आइटी आर्मीका हजारौं युवाहरुको सहभागिता रहेको थियो ।



























