
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफूलाई मानवअधिकारको गम्भीर उल्लंघनकर्ताको सूचिमा राखेकोमा आयोगसमक्ष कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको भनेर सार्वजनिक गर्न चूनौति दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकारको उल्लंघन गरेको भनेर सार्वजनिक गरेको सूचिमा आफ्नो नाम समावेश गरेपछि साहले आफ्नो तर्फबाट आज (बिहीबार) एक वक्तव्य जारी गर्दै यस्तो चूनौति दिएका हुन् ।उनले जारी गरेको वक्तव्यमा भनिएको छ–‘मलाई मानवअधिकार उल्लंघनको दोषी देखाउने मानवअधिकार आयोगलाई चूनौति दिन चाहन्छु–मैले कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको छु ? घट्नाको सत्य, तथ्य सार्वजनिक गर । यसरी मेरो चरित्र हत्या गर्ने र जनतालाई गुमराहमा राख्नु र बिनाआधार कसैको चरित्र हत्या गर्नु आँफैंमा मावनअधिकारको उल्लंघन हो ।’ मानवअधिकारजस्तो सम्मानित संस्थाको पदमा बसेर पूर्वाग्रह साँध्ने, कुण्ठा पोख्ने र जनतालाई भ्रमित पार्ने कार्य आँफैंमा आपराधिक कार्य भएको साहको टिप्पणी छ । उनले थप भनेका छन्–‘यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरुले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानूनी लडाईं लड्न बाध्य हुने चेतावनी दिन चाहन्छु ।’




























