
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यस्तो टिप्पणी गरेका हुन् । काठामाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गर्दै साहले भने, ‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाडी व्यवसायीहरुमाथि डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाईएको छ । महानगरपालिकामाथि कानून लाग्छ कि लाग्दैन् ? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस् भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाडी व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होईन ?’ उनले कवाडी व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृहमन्त्रालयको ध्यानाकार्षण समेत गराए ।कसैलाई पनि गैरकानूनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने साहको तर्क छ । ‘आज काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीहरुलाई मनोमानी ढंगले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको छ । जबरजस्ती भगाउने काम भएको छ । लाखौंलाई बेरोजगार बनाउने प्रयास भएको छ’ साहले भने, ‘सरकारले बेरोजगारलाई रोजगारी दिने र रोजगारीलाई व्यवस्थित बनाउँने हो तर यहाँ महानगरले गैरकानूनी रुपमा आतंकित गरिएको छ ।’ घर–घरका काम नलाग्ने कवाडीहरु व्यवसायीहरुले किनेर काठमाडौंलाई सफा, स्वच्छ बनाउँनमा सहयोग गरेको बताउँदै उनले ति व्यवसायीलाई सरकारले सम्मान गर्नुपर्ने बताए । ‘यहाँ भ्रष्टहरु सम्मानित भईरहेका छन, श्रमचोरहरु सम्मानित भईरहेका छन् । तर श्रमजिविहरु ऋपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । काठमाडौं महानगरपालिकासंग थोरै पनि नैतिकता भएको भए ति व्यवसायीहरुलाई सम्मान गर्नुपथ्र्यो’ साहले भने । कानून अनुसार काम गरिरहेका कवाडी व्यवसायीलाई गैरकानूनी रुपमा हटाउँन नमिल्ने उनले बताए । तर गैरकानूनी रुपमा हटाउँन खोजिएपछि उनीहरुलाई काम गर्ने विकल्प दिनुपर्ने सुझाव उनले दिए । सर्वोच्च अदालतको निर्णय विपरित समेत महानगरपालिकाका प्रहरीले जबरजस्ती गर्नुले के उनीहरु कानूनभन्दा पनि माथि रहेको छन् भन्दै उनले प्रश्न गरे । सरकारले यसको छिटै निकास दिनुपर्ने र गृहमन्त्रीले सुरक्षाको अनुभुति गराउँनुपर्ने माग समेत उनले गरेका छन् ।




























