
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले चुरे संरक्षणको नाममा अर्बौ रकम लुटिने र बाँडफाँडमै सकिने बताएका छन् । चुरेको विनाशले आज हाराभारा तराई मधेसका जिल्लाहरु मरुभूमी भईरहेको उनले बताए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका साहले चुरेकोको विनाले तराई मधेसमा पानीको हाहाकार भईरहेको बताए । उनले मौसम परिवर्तनको कारण तराई÷मधेशमा पानीको सतह सुक्दै गएको बताए । साहले अवैध उत्खनन अहिलेपनि जारी रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकार्षण गराए । अहिले तराई मधेसको पर्यावरण पनि तहसनहस र बिग्रिएको साहको आरोप छ । ‘चुरिया संरक्षणको नाममा अर्बौ बजेट बाँडफाँट हुन्छ, लुट हुन्छ । चुरिया संरक्षणमा के भईरहेको छ, हामी जान्न चाहन्छौं ।चुरिया संरक्षण किन अगाडी बढेन ? हालसम्म केकति प्रगति भयो हामी जान्न चाहन्छौ’ आजपा अध्यक्ष साहले भने, ‘चुरिया संरक्षणको नाममा मान्छे मोटाउँने, भ्रष्टाचार गर्ने काम मात्रै भईरहेको छ ।’ चुरियाको दोहानले आज तराई मधेस मरुभूमी भईरहेको र कहिल्यै नसुक्ने गहिरो इनार सुकिरहेको, चापाकलमा पानी आउँन छोडिसकेको बताउँदै उनले अगाडी थपे, ‘चुरेको विनाशले किहिल्यै नसुक्ने त्यत्रो गहिरो ईनार सुकिरहेको छ । चापाकलमा पानी आउँछ छोडिसकेको छ । खानेपानीको अभाव नहुने ठाउँमा आजको दिनमा खानेपानीको हाहाकार भईरहेको छ । यस बिषयलाई गम्भिर रुपमा लिन र मानविय दायित्वसंग आत्मसात गर्न म सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु ।’ यसैगरी उनले गत बर्षकै बाढीले भत्काएका बाँधहरु र पूर्वाधारहरु अझैपनि निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।गत वर्षको असार÷साउनका बाढीले तहसनहस भएका संरचनाहरु अझैपनि पुर्ननिर्माण हुन नसकेको भन्दै सरकारको आलोचना गर्दै ति संरचनाहरु कहिले निर्माण हुने भन्दै सरकारसंग प्रश्न गरेका छन् । ‘खासगरेर रौतहटका बकैया र बाग्मतीका बाँधहरु गत वर्षका बाढीबाट तहसनहस भएका छन् । त्यतिवेला राजदेवीलगायतका गाउँहरु जलमग्न थिए । गाउँलेहरु डुबानमा थिए । अझैसम्म पनि बन्ने छाँटकाँट देखिएको छैन् । तराई÷मधेशमा करिब करिब सबैतिर यस्तै अवस्था छ ।कि त भत्किएका छन्, कि भत्किने चरणमा छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ । सरकार त बास्तवमा सुतेर बसेको छ । के यो मानवीय दायित्वसँग जोडिएको विषय होईन र ? तराई जलमग्न हुँदा हामीहरुले के टिभीमा हेरेर मजा लिने हो ? कि त्यसमा हाम्रो दायित्व पनि बन्छ ?’ साहले भने, ‘हामी सबैलाई थाहा कि पहाडको पानीले तराई जलमग्न हुन्छ । के यसमा पहाडको नेताहरुको दायित्व होईन र ? काठमाडौंको पानीले रौतहट तहसनहस हुन्छ, के यसमा काठमाडौंका राजा महाराजाहरुको त्यो दायित्व होईन र ? अहिले सरकारको ओहोदामा बस्नेहरुले ती बाँधहरु पूरा नगर्दा कुन नैतिकताले त्यो ओहोदामा बस्न मिल्छ ? म यसमा माननीय मन्त्रीजीको जवाफ चाहन्छु । के तपाईंहरु फेरि वर्षाको याममा इमर्जेन्सीको नाममा त्यही लुट्नको लागि हो ? होईन भने अहिले किन बनिरहेको छैन् ?’ उनले तराई÷मधेशका लागि बाढी त अभिषापसिद्ध भएको टिप्पणी गरे ।उनले काठमाडौंका शासकहरुको कारण तराई मधेसका मान्छेहरुले बाढीबाट डुबेर मनुपर्ने अवस्था रहेको भन्दै सरकारमाथि आक्रोश पोखे । अहिलेसम्म गत असारमै भत्किएका बाँधहरु नबनाईएकोमा साहले चिन्ता र चासो व्यक्त गर्दै त्यसलाई तत्काल बनाउँन सरकारसंग माग समेत गरेका छन् ।




























