
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायीत्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको संविधान संशोधनः प्रेस स्वतन्त्रता बिषयक कार्यक्रममा कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायीत्व हुन नसकेको भन्दै राजनीतिक स्थायीत्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको हो ।उहाले संविधानलाई १० बर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेका कारण अव कांग्रेस र एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राख्नुभयो ।समावेशी समानुपातीकलाई आघात नपुग्ने गरि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा दुइमत नरहेको उहाको भनाइ छ ।कोइरालाले अहिले दुई ठूला दल मिल्दा निरंकुशता जन्मने डर पनि रहेकाले सञ्चारमाध्यमले अग्रणी भूमिका खेल्नुपर्ने र गलत काम हुनबाट रोक्न खवरदारी गर्नुपर्ने बताउनुभयो ।उहाले आफुहरु सत्तामा रहेपनि सरकारको गलत कामलाई गलत र सहि कामलाई सहि भन्ने स्पष्ट पार्नुभयो ।




























