
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले सरकारको कुशासन नै लोकतन्त्रमाथि खतरा भएको दाबी गरे । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताए ।
उनले भने, ‘सरकारको विश्वसनियता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् ।पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको प्रचण्डले बताए। लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारीपीडित थप पीडित बनेका छन्,’ उनले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । दुग्धउत्पादक किसान होउन वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन वा उखु किसान, दलित हुन् वा महिला म आज सबैलाई आन्दोलनमै देखिरहेको छु ।सरकारको वेतिथि र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउदैँ लगेको छ । सरकारमा बसेका साथिहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरु विकल्प नै देख्न छाडेको हो ?।’




























