
काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन् । सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् ।विभागका प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए । १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए । तात्कालिन नेकपा (एस)को ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ ।प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको उनले बताए ।संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिको कार्ड नबनाउने तयारी गरेको छ । विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ ।




























