
नेपालमा ओली, प्रचण्ड र देउवाका लठैत भेडाहरु जसले पुराना, असफल र पुरातन राजनीतिक मानसिकता बोकेका छन् तिनीहरु नयाँ अनुहारहरूलाई राजनीतिमा देखेर डराइरहेका छन्। उनीहरू लेखक, कलाकार, पत्रकार, खेलाडी र पढेलेखेका युवाहरू राजनीतिमा आउँदा व्यङ्ग्य गरिरहेका छन्, हाँसो उडाइरहेका छन् । उनीहरुको सोच छ राजनीतिलाई अझै पनि अयोग्य, बदमास र चरित्रहीनहरूको अखडा बनाइराख्ने छ ।
यथार्थ के हो भने, नेपाल मात्र होइन—विश्वभरि नै राजनीतिमा पहिलाअपराधी, लफङ्गा, अपठित अयोग्यअसफल र अनैतिक मानिसहरू हाबी भए । राजनीति कुनै असफलहरूको शरणस्थल होइन, हुनै हुँदैन। यदि गलत मानिस राजनीतिमा आए भने त्यो समाजको चेतनाको कमजोरी थियो—न कि राजनीतिको विशेषता।इण्डियामा पहिला कसरी डाँकाहरु राजनीतिमा हावी हुन्थे ? त्यो राजनीति महान भएर होइन, समाज कमजोर भएर सम्भव भएको थियो। त्यो अवस्था गौरव होइन, चेतनाको अभावको परिणाम थियो। आज परिस्थिति बदलिँदैछ। लेखक, कलाकार, पत्रकार, खेलाडी र शिक्षित युवाहरू राजनीतिमा आउनु भनेको—समाजले राजनीति अब गम्भीर विषय हो भनेर बुझेको संकेत हो ।
विश्वले यसको स्पष्ट उदाहरण दिइसकेको छ। अमेरिकामा रोनाल्ड रेगन हलिउडका चर्चित अभिनेता थिए । तर उनले दुई कार्यकालसम्म अमेरिकाको राष्ट्रपति भएर शीतयुद्धको दिशा नै मोडिदिए । त्यस्तै, विश्वप्रख्यात अभिनेता अर्नोल्ड स्वार्जनेगर क्यालिफोर्नियाजस्तो ठूलो र शक्तिशाली राज्यका गभर्नर बने । उनी राजनीतिमा आउँदा पनि एक्सन हिरो भनेर हाँसो उडाइयो तर उनले आर्थिक सुधार, वातावरणीय नीति र प्रशासनिक अनुशासनमा ठोस काम गरे ।
पाकिस्तानमा इमरान खान विश्वकै महान क्रिकेट खेलाडीमध्ये एक थिए । खेल जीवनपछि उनले परोपकारी संस्था बनाए, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरे र अन्ततः प्रधानमन्त्री बने। उनको लोकप्रियता केवल क्रिकेटका कारण होइन, नेतृत्व, अनुशासन र इमानदार छवि का कारण थियो ।पत्रकारहरू पनि राजनीतिमा सफल भएका छन्। बोरिस जोनसन बेलायतमा पत्रकार थिए पछि प्रधानमन्त्री बने। चेक गणतन्त्रमा लेखक–बौद्धिक भात्स्लाभ हाभेल राष्ट्रपति बने। पेरुमा विश्वप्रसिद्ध उपन्यासकार मारियो भार्गास योसा राष्ट्रपतिको उम्मेदवार बनेर राष्ट्रिय बहसको स्तर उठाए। भारतमा अभिनेता एम. जी. रामचन्द्रन र एन. टी. रामाराव मुख्यमन्त्री बनेर सामाजिक सुधार गरे । नेपालकै कुरा गर्दा लोकेन्दर बहादुर चन्द र राजेश्वर देवकोटा लेखक नै थिए । यी सबै उदाहरणले एउटै कुरा भन्छन्रा, जनीतिमा आउने योग्यता पेशा होइन, दृष्टि हो।कलाकारसँग संवेदना हुन्छ, लेखकसँग चिन्तन हुन्छ, पत्रकारसँग प्रश्न गर्ने साहस हुन्छ, खेलाडीसँग अनुशासन र नेतृत्व हुन्छ। यिनै गुणहरू बिना राजनीति सड्छ जुन नेपालमा अहिले देखिएको छ । आज नेपालमा खेलाडी, गायक, कलाकार र लेखकलाई हेप्नु भनेको नयाँ विचारलाई होइन, आफ्नै असफलतालाई बचाउन खोज्नु मात्र हो । साँचो प्रश्न के होइन भने यी कलाकार किन आए ? साँचो प्रश्न त देश अब फेरि बदमासले चलाउने कि चेतनाले चलाउने भन्ने हो । इतिहासले बारम्बार देखाइसकेको छ—देश परिवर्तन भाषणले होइन, योग्य मानिसले गर्छन् । वर्तमान नेपालमा योग्य मानिसहरु राजनीतिमा आइरहेका छन् यो नेपालीका लागि गौरवको कुरा हो र यिनलाई स्वागत गरौं ।
पुण्यप्रसाद प्रसाई




























