
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेको बताएका छन् ।बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क र छलफल गरिरहेको बताए ।उनका अनुसार सरकार र राजनीतिक दलको जिम्मेवारी फरक रहेकाले आ–आफ्नो जिम्मेवारीअनुसार काम अघि बढिरहेको छ । पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी सरकारले निर्वाह गर्ने स्पष्ट व्यवस्था रहेकाले काममा दोहोरोपन आवश्यक नरहेको उनको भनाइ छ ।लामिछानेले संसदीय समिति वा सर्वदलीय संयन्त्रबाट हुने कामको स्वामित्व सरकारले नलिने अवस्था नरहेको पनि बताए । सरकार र सम्बन्धित निकायले आवश्यक जिम्मेवारी लिएर अघि बढ्ने उनले स्पष्ट पारे ।भोटेकोशी बाढीको प्रकृतिबारे विज्ञमार्फत अध्ययन गरी घटनाको वास्तविक कारणबारे सरकारले चाँडै स्पष्ट पार्नुपर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भएको उनले जानकारी दिए । बाढीको प्रकृति जटिल र अनुसन्धान तथा प्राविधिक विज्ञता आवश्यक पर्ने भएकाले विज्ञको अध्ययनपछि यसको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।लामिछानेले बाढीपछि सरकारले प्रारम्भिक चरणमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको र अहिले राहत तथा पुनःस्थापनाको काम अघि बढिरहेको बताए । पुनःस्थापना र पुनर्निर्माण लामो चरणको काम भएकाले सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू योजना निर्माणदेखि स्थलगत कामसम्म सक्रिय रहेको उनले बताए ।उनका अनुसार सरकारी निकायहरूले आवश्यकताअनुसार बैठक, निर्णय र स्थलगत कामलाई निरन्तरता दिइरहेका छन् ।यसैबीच, रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचनालाई लामिछानेले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरेका छन् । पार्टीका नेता तथा सांसदहरूले आफ्ना धारणा राख्ने शैली फरक हुन सक्ने भन्दै त्यसलाई लिएर पार्टीभित्र कुनै ठूलो समस्या नरहेको उनले बताए ।



























