
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले अघि बढाउन लागेका दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्न आग्रह गरेका छन् ।बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कोइरालाले कांग्रेसको आन्तरिक विभाजनका कारण आसन्न दुई महाधिवेशनले नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्न सक्ने बताएका छन् ।उनले पार्टीभित्रको विवाद अन्त्य गर्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् । ‘एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले भनेका छन् ।कोइरालाले आफूले विगतमा पनि पार्टी एकताका लागि यस्तै प्रयास गरेको र अहिले पनि सोही दिशामा सक्रिय रहने बताएका छन् । उनका अनुसार मध्यमार्ग कठिन भए पनि आफूले त्यसलाई सत्य र कांग्रेसको मूल जीवनदर्शनसँग जोडेर हेरेका छन् ।‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,’ उनले भनेका छन् ।पार्टीभित्र आफू आरोपित भइरहेको उल्लेख गर्दै कोइरालाले कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने आफू एक राजनीतिक कार्यकर्ता रहेको बताएका छन् ।उनले कांग्रेसभित्रको विभाजनलाई अन्त्य गर्दै सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।


























