
विराटनगर — संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक, कानुनी तथा प्रशासनिक जटिलताहरू समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यका साथ आज (मङ्गलबार) देखि कोशी प्रदेशको राजधानी विराटनगरमा 'मुख्यमन्त्री सम्मेलन' सुरु हुँदैछ।कोशी प्रदेश सरकारको आतिथ्यतामा हुन लागेको यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सोमबार नै विराटनगर आइपुगेका छन्।तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सम्मेलनमा सहभागी भएका छैनन्। सुदूरपश्चिम प्रदेश सरकारले हालै संसद्मा पेस गरेको बजेट विवाद र आन्तरिक राजनीतिक छलफलका कारण उनी विराटनगर आउन नसकेका हुन्। उनको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी भएका छन्।'विराटनगर घोषणापत्र' जारी गरिने
दुई दिनसम्म चल्ने यस सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरू, प्रमुख सचिवहरू, प्रदेश योजना आयोगका उपाध्यक्षहरू र मुख्यन्यायाधिवक्तासहितको उच्च टोली सहभागी छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार सम्मेलनमा विशेष गरी संघीय सरकारसँग प्रदेशको अधिकार रक्षा, प्रहरी समायोजन, निजामती सेवा ऐन, र वित्तीय स्रोतको न्यायोचित बाँडफाँटसम्बन्धी विषयमा सामूहिक आवाज उठाउन साझा एजेन्डा तय गरिनेछ। दुई दिने सघन छलफलपछि प्रदेशहरूले संयुक्त रूपमा ‘विराटनगर घोषणापत्र’ जारी गर्ने कार्यसूची रहेको छ।



























