
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को केन्द्रीय कार्यालय खुमलटार, ललिपुरमा आज बागमती प्रदेश स्तरीय प्रादेशिक कृषि प्राबिधिक कार्य समूहको बैठक सम्पन्न भएको छ । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न सो बैठकमा बिभिन्न बिषयमा ६ वटा कार्यपत्र बिज्ञहरुले प्रस्तुत गरेका थिए । ति बिषयमा समूहगत छलफल समेत भयो । आर्थिक बर्षको प्रादेशिक कृषि प्राबिधिक कार्य समूहको बारेमा बिनेश मान साखः, नार्कले हालसालै विकास गरेका बाली तथा वागवानी अनुसन्धान सम्बन्धि प्रविधिहरुको बारेमा डा. सुरेन्द्रलाल श्रेष्ठ, नार्कले हालसालै विकास गरेका पशु तथा मत्स्य अनुसन्धान सम्बन्धि प्रविधिहरुको बारेमा डा. स्वयमप्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी प्रदेशस्तरका कृषिसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमुलक समस्याहरु समस्याको व्यापकता र सम्भावित क्षतिको बारेमा गोविन्दप्रसाद पोखरेल, प्रदेश स्तरका पशुपन्छी तथा मत्स्यसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमुलक समस्याहरु, समस्याको व्यापकता र सम्भावित क्षतिको बारेमा डा. गौरिमान श्रेष्ठ र प्रदेश स्तरमा कृषि र पशु बिज्ञानसंग सम्बन्धित प्रधानम्रन्त्री कृषि अनुनिकीकरण परियोजना अन्तर्गतका परियोजना कार्यान्वयन इकाईहरुको तर्फबाट अनुसन्धानमुलक समस्याहरु, समस्याको व्यापकता र सम्भावित क्षतिको बारेमा महेश रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नार्कका निमित कार्यकारी निर्देशक लुमानिधि पाण्डे प्रमुख अतिथि रहेका थिए । पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दैै नार्क अन्तर्गतका बिभिन्न कार्यालयबाट हुने अनुसन्धानबाट कृषि क्षेत्र एवं कृषकले लाभान्वित भएको बताए । ति अनुसन्धानबाट समस्याको पहिचान, समाधान लगायतका बिषयमा गम्भिर भएर अझै मिहिने गर्दै अगाडी बढदा कृषि क्षेत्रमा क्रान्ति ल्याउँन सकिने उनले बताए । कार्यक्रममा बागमती प्रदेशका कृषि मन्त्रालयका सचिव राजेन्द्र कोइराला, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय बागमती प्रदेश हेटौडाका निर्देशक डा.गौरिमान श्रेष्ठ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुर चितवनका परियोजना कार्यान्वयन इकाई प्रमुख महेश रेग्मी, कृषि विकास निर्देशनालय बागमती प्रदेश हेटौडाका वरिष्ठ बालि संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेल, नार्कका निर्देशकहरु, कार्यक्रम संयोजकहरु, केन्द्र प्रमुखहरु, महाशाखा प्रमुखहरु लगायतका बिभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको बिशेष सहभागिता रहेको थियो ।




























