
बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय शय्या पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् ।यी अस्पतालमा जनशक्ति, भौतिक पूर्वाधार, उपकरणसमेत थप हुने भएपछि स्थानीयले सहज स्वास्थ्य सुविधा पाउने भएका हुन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेशमा स्वास्थ्यमन्त्री भएपछिको सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्न शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको स्वास्थ्य र स्वास्थ्य शिक्षामा यसले फड्को मारेको छ ।”स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न कम्तीमा एक सय शय्याको अस्पताल आवश्यक पर्दछ । अस्पतालकै अभावमा धेरै स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम बन्द भइरहँदा प्रादेशिक अस्पतालमा समेत शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने भएको मन्त्री जोशीको भनाइ थियो । मन्त्री जोशीले आज यहाँ पत्रकारहरूसँग भन्नुभयो, “अस्पतालको स्तरोन्नति भएसँगै प्रदेशमा कोही उपचारबाट वञ्चित हुनुपर्ने छैन ।” गरिबका लागि निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेशले गरेको उहाँको भनाइ थियो ।यससँगै स्थायी पाँच सय ९९ र करारका एक सय ५९ दरबन्दी थप भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यी अस्पतालमा अपुग भौतिक संरचना बन्दै जाने छन् । प्रदेश सरकारको पुस ३ गते बसको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताल र भक्तपुरको भक्तपुर अस्पताललाई तीन सय शय्या बनाउने निर्णय भएको छ । यसअघि ती दुवै अस्पताल एक सय शय्या क्षमतामा सञ्चालन हुँदै आएका थिए ।बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई एक सय शय्या बनाउने निर्णय गरेको थियो । त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईँ स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको हो । रासस



























