
वीरगञ्ज (पर्सा), माघ १ गते । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगन्जस्थित सिमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।सिमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरूको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँच जनाको स्क्रिनिङ गरिएको जानकारी दिनुभयो । जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरूको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उहाँले बताउनुभयो ।हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।होल्डिङ सेन्टर तयारी अवस्थामावीरगन्जस्थित सिमानाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । कोभिड– १९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणको उद्देश्यका साथ यहाँस्थित सिमानाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो ।निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगन्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिनुभयो । कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेनटिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेनटिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उहाँको भनाइ थियो ।भारतबाट आएकालाई क्वारेनटिनमा राख्नका लागि पर्सामा करिब रु २८ करोडको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय बनाइएका छन् ।उक्त क्वारेनटिनमा एक हजार शय्या छन् । जसमध्ये नौ सयमा सामान्य लक्षण भएकालाई र एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिने छ । त्यस्तै, अन्य तीन वटा एसीसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले बताउनुभयो । रासस




























