
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताउनुभएको छ ।सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टिकरण दिनुभएको हो । बिरामी भएर ८÷१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गर्नुभयो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उहाँलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हो कहिलेकाँही मानवीय समवेदन र करुणाका कुराहरु छाउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आईरहेका छन् । ८÷१० वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि विरामी हुनुभएको कुरालाई इंगित गरेको छ । र कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउन भएको छ । राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै विरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन । भनेको बेला, चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ । अदालतले समेत भनिसकेको छ कि उहाँको स्वास्थ्य अवस्था कमजोर छ । त्यसकारण यसलाई पनि लिएर अनेक टिकाटिप्पणी भएको हामीले सुनेका छौं । दोषी कोही पनि उम्कदैनन्, निर्दोष कोही पनि फस्दैनन् । निर्धक्क हुनुहोला । नआत्तिनु होला, धैर्य गर्नुहोला । मैले अघि भनेजस्तै माछा ठूलो होस्, चिप्लो होस, बाठो होस, जस्तोसुकै होस । उम्कदैन । माछा उम्केको एक मिनेटमा पदबाट राजीनामा दिएर आउँछु ।’उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै आफूले राजीनामा दिने बताउनु भयो । तर एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा आफूले राजीनामा दिन नसक्ने उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उहाँले नेपाली काँग्रेसले नैतिकताको कुरा आफूमाथि देखाएपनि तत्काल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पदमा नै बहाल रहेर अख्तियारमा दिएको बयान दिँदा पनि सरकारबाट फिर्ता नबोलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘संसद अवरुद्ध पारिएको छ । अनेक बहाना बनाएको छ । प्रधानमन्त्रीको जवाफ मागेको थियो, जवाफ आयो । अब हुँदैन प्रधानमन्त्रीको जवाफ अब संसदीय समिति चाहिन्छ भन्ने सुनिरहेको छु मैले । गृहमन्त्रीको राजीनामा पनि मागिएको छ भन्ने मैले सुनिरहेको छु । म स्पष्ट पार्न चाहन्छु–काम गर्न नसकेको बेला तपाईहरुले संसद वा सडकमा राजीनामा माग्दै पर्दैन । रास्वपाका मान्छेहरु खल्तीमा र आफ्नो ब्यागमा राजीनामा बोकेर हिँडेका छन् । तर कसैले एउटा चिर्कोटमा हालेको उजुरी प्रहरी कार्यालयको ड्रयरमा बसेको उजुरीमा राजीनामा दिने चिज माग्ने नेपाली काँग्रेस, जो अस्तीसम्म झण्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो । अस्ती रोष्टम घेर्न जाँदा त म हल्लिदै गरेको अवस्थामा तिनैलाई देख्दैथिएँ म त । राजीनामा दे, राजीनामा दे भन्ने को रहेछन् भनेको त अख्तियारमा झण्डा हल्लाउँदै बयान दिन जाने मान्छेको पो भुँडी हल्लाईहल्लाई रोष्टमा पुगेका रहेछन । ए, आफू सरकारमा बसुन्जेल त्यो नैतिकता नचाहिने ? अनि त्यतिखेर नैतिकता देख्याएर हाम्रो मन्त्रीलाई निकाल्यौ भनिदिएको भए हुन्थ्यो नि त । निकाल्नुभएन । प्रधानमन्त्रीले गलहत्याउनु प¥यो । अनि नैतिकता उहाँहरुले मसँग खोज्नुभएको छ । के अप्ठयारो छ भने नेपाली काँग्रेसका साथीहरुलाई बुझेको केही छैन, तर सबै बुझेको जस्तो पनि गर्नुपरेको छ । त्यो समस्यामा उहाँहरु हुनुहुन्छ । म एउटा स्पष्ट कुरा राख्न चाहन्छु । मेरो विषयमा पटकपटक हाम्रो बारेमा बुझनुहोला, सोध्नुहोला भनेर आन्तरिक लोकतन्त्रलाई स्पष्ट पारेर बैठक चलाएको छौं हामीले । मेरो विषयमा प्रश्न उठेका विषयमा हामीले यथेष्ट संवाद गरेका छौं । र मैले त्यसलाई सार्वजनिक पनि गरेको छु । तर मेरो जवाफ संसदमा सुन्ने धैर्य पनि प्रमुख प्रतिपक्षले राखेन । मैले जवाफ दिन पाएको भए त्यो कुरालाई अझ स्पष्ट पाथ्र्ये । र, यति ठूलो इतिहास बोकेको दल ठाडो उजुरीमा किन सदननै अवरुद्ध पार्न पुग्यो ।’उपप्रधानमन्त्री लामिछानेले नेपाली काँग्रेसले आफ्नो कुरा सुन्ने धैर्यता समेत नराखेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।




























