
आज १ अप्रिल । यस दिनलाई मूर्ख बनाउने दिनका रुपमा विश्वभर मनाइन्छ।आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् । तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज रिसाउने मान्छे कमै हुन्छन् ।अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।
सन् १५८२ मा पोप चार्ल्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका रूपमा १ जनवरीलाई कायम गरियो । त्यसपछि १ जनवरीलाई नयाँ वर्षका रूपमा मनाउन थालिएपछि अप्रिल १ लाई नयाँ बर्ष मान्नेहरूलाई मूर्खको संज्ञा दिन थालियो ।
अप्रिल फुल दिवसलाई हिजोआज मूर्ख दिवस पनि भनिन्छ । मनाउने परम्परा सामान्य नै लागे पनि यसले व्यापकता पाएको छ । हिजोआज अप्रिल १ लाई गलत रुपमा व्याख्या गरिने गरिएको छ । जसले गर्दा अप्रिल १ को बदनाम पनि हुने गरेको छ । कुनै अतिआवश्यक कुरामा पनि हाँसि मजाक गर्ने गरिंदा मानिसहरु तनावमा पर्ने गरेका छन्।
अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसलाई नेपालमा पनि मनाइँदै आएको छ । सामाजिक सञ्जालको प्रभाव विस्तारपछि त्यसमा झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम हरेक वर्ष बढ्दै गएको पाइन्छ ।



























