
काठमाडौं महानगरपालिकाको ज्यादती विरुद्ध कबाड व्यवसायी संघर्ष समितिले आज (सोमबार) पनि काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाले गरेको रिङरोडभित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । कबाड व्यवसायीहरूले सोमबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । कबाड व्यवसायीहरूले प्रदर्शनमा ‘छोटे राजाहरूको आतंक बन्द गर’, ‘कबाड व्यवसायीको रक्षा गर’, ‘कानुनी शासन लागू गर’, ‘अदालतको निर्णयको सम्मान गर’ जस्ता नारासहित प्लेकार्ड समेत प्रदर्शन गरेका हुन् । ‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा समेत उनीहरुले लगाए । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ । कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरूले आन्दोलन गर्नुपरेको कबाड व्यवसायी संघका अध्यक्ष संजय साहले जनाएका छन् । कबाड व्यवसायीहरुको कबाड संकल केन्द्रमा महानगरले डोजर चलाएपछि उनीहरु आन्दोलित भएका हुन् ।अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग समेत उनीहरुले गरेका छन् । काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता साहले जनाएका छन् । पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् । कबाड व्यवसायीहरुको काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता एवं नवीकरण रोकेकोमा उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् । आन्दोलनकारीले व्यवसायीहरुमाथि भएको दुव्र्यवहारको न्यायोचित छानबिन हुनुपर्ने, भौतिक संरचनामा भएको तोडफोडबारे छानबिन गरी उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग समेत गरेका छन् । कबाड व्यवसायीको आन्दोलनमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को समेत सहयोग रहेको छ । कबाड व्यवसायी संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्वमा सो प्रदर्शन भएको हो । बालेनले कबाड व्यवसायीमाथि डोजर आतंक मचाएपछि केही समय अघि आजपा अध्यक्ष प्रभु साहले काठमाडौंका मेयरको डोजर आतंक नरोकिए काठमाडौं महानगरमा प्रभु साहको डोजर चल्ने चेतावनी दिएका थिए ।




























