
काठमाडौं । संसदीय समितिले चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वमा हुन सक्ने कालोबजारी र कृतिम अभावलाई रोक्दै अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।त्यस्तै अस्वभाविक मूल्यबृद्धिलाई रोक्न मन्त्रालय र मातहतबाट हुने गरेको बजार अनुगमनलाई प्रभावकारी बनाउदै सुपथ मूल्य पसलहरुको विस्तार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अव्दुल खानले जानकारी दिनुभयो ।समितिले देशका बिभिन्न स्थानमा गरेको अनुगमनका क्रममा तीनै तहका सरकारबीच समन्वय नदेखिएकाले अनुगमनसम्बन्धी कार्यमा तीन तहको सरकारबीच समन्वयका लागि आवश्यक कानून, जनशक्ति र बजेट लगाएतको विस्तृत कार्ययोजना तयार गरि समितिमा पेश गर्न पनि निर्देशन दिएको उहाले बताउनुभयो ।त्यस्तै बैठकले अनुगमनलाई प्रभावकारी बनाउनका लागि अहिले देखिएका समस्या समाधानको उपायसहितको जानकारी समितिलाई गराउन निर्देशन दिएको सभापति खानले जानकारी दिनुभयो ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको बजार प्रभावित हुनसक्ने कारणप्रति सरकार सजक रहेको भन्दै सहज रुपमा आपूर्ति गर्नका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाले अहिले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको जानकारी दिनुभयो ।मन्त्री भण्डारीले अनुगमनका क्रममा यसअघि देखिएका जटिलता र त्रुटीहरुलाई हल गर्दै यसलाई प्रभावकारी बनाइने बताउनुभयो ।बैठकमा समिति सदस्य लगाएत उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघ÷संस्थाका प्रतिनिधिहरुले चाडपर्वमा समयमा कालोबजारी र कृतिम अभाव निकै बढ्ने गरेको भन्दै समयमा नै यसको नियन्त्रण गरि कृतिम महङ्गीलाई रोक्नुपर्ने सुझाव दिएका थिए ।




























