
काठमाडौं- सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिवेदन प्रस्तुत गर्दै संयोजक थापाले कार्यादेशमा केन्द्रीत भइ सहकारी छानविनको काम गरेको बताउनुभयो ।उहाले सहकारी अपचलनमा संलग्नलाई समेत समितिमा हाजिर गराएर सत्य खोज्ने काममा मेहनत गरेको उल्लेख गर्नुभयो । ४० वटा सहकारीको बित्तिय विश्लेषण गरेको भन्दै उहाले सरकारलाई आवश्यक सुझाव र थप छानविनका साथै कारवाहीको सिफारिस गरिएको जानकारी दिनुभयो ।छानविनका क्रममा नक्कली सम्बन्ध बिच्छेद, नक्कली ऋणी, नक्कली धितो, नक्कली खाता, नक्कली खाता परिक्षण देखिएको र कानुनबिपरितको काम गरेर सहकारीको विश्वनियता कमजोर पार्ने काम भएको देखिएको उहाले बताउनुभयो । संयोजक थापाले समितिको छानविनमा सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नुभयो । प्रतिवेदन प्राप्त भएपछि सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउने व्यवस्था गर्न संसद सचिवालयलाई निर्देशन दिनुभयो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न प्रतिनिधिसभाले जेठ १५ गते छानविन समिति गठन गरेको थियो ।




























