
काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ ।सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाईको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए ।समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ । घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने तर बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको बताउनुभयो ।भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलव्ध नभएपछि समितिले सोमबारसम्म प्रमाणपत्र बुझाउनका लागिसमय दिएको थियो । समितिको बैठक मंगलबार बिहान बोलाइएको छ ।




























