
काठमाडौं । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ ।तिहारको लक्ष्मीपूजाको दिन (कात्तिक १५ गते)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ ।बाबु र छोराबीचको सम्बन्धलाई मियो बनाएर फिल्मले जीविकोपार्जनका लागि गन्धर्व समुदायले गर्ने संघर्ष र त्यो समुदायले भोगेको विभेदको कथा उठाएको छ । ट्रेलरले अभिनेता विजय बरालले निभाएको पूर्णबहादुर पात्रलाई पछ्याउँछ, जसले छोरालाई शिक्षित बनाउने सपना देखेको छ । उनको छोराको भूमिका अभिनेता प्रकाश सपूतले निभाएका छन् । तर, ट्रेलरमा विजय बढी हावी छन् । उनको अभिनय मर्मस्पर्शी लाग्छ । उनलाई जवान र वृद्ध गरी दुई रुपमा देख्न सकिन्छ ।सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् ।पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।




























