
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता विरुद्ध छिटै मोर्चा निर्माण गर्ने बताएका छन् ।सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै आजपा अध्यक्ष साहले सरकारको आतंक एवं निरंकुशता बिरुद्ध मोर्चाको आवश्यक भएकाले आफू त्यसको गृहकार्यमा जुटेको बताए ।‘स्थायित्व, विकास, सुशासन लगायतको क्षेत्रमा पूर्णरुपमा असफल भईसकेको सरकार राजीनामा दिनुपर्ने हो । तर जनताको आवाज दबाउन र विपक्षीलाई तर्साउन लागेका वर्तमान सरकार निरंकुशतातर्फ लागेकोले देशलाई बचाउन एकीकृत मोर्चाको आवश्यक्ता छ’ आजपा अध्यक्ष साहले भने ।सरकार असफल भईसकेकाले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै उनले जनादेश विपरित संसदीय गणितको बलमा बनेको ओली सरकार छोटो समयमै गन्हाउन थालेको टिप्पणी गरेका छन् ।‘संसदको सबैभन्दा पहिलो र दोस्रो ठुलो दल मिलेर लोकतन्त्रमा सरकार निर्माण हुदैन् । तर यहाँ लोकतन्त्रको मुल्यमान्यता एवं जनादेश विपरित नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार बनेको छ । के निर्वाचनमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँछौं भनेर जनतासंग मत मागेका थिए ? मतदातासंग एउटा प्रतिबद्धता गर्ने निर्वाचन सकेपछि अर्को मनलाग्दी गर्न मिल्छ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको गम्भिर आरोप उनले लगाए । सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको आरोप लगाउदै उनले यस्तो कार्यको विरोध पनि गर्न नपाउने भन्ने कुराले सरकार ‘नाजीवादी’ सोचबाट ग्रस्त भएको टिप्पणी साहले गरेका छन् ।‘यो सरकार राजवादी भन्दा पनि निरंकुशशैलीमा अगाडी बढेको छ । बच्चा रुदा रोएको हो भन्ने कुरा पनि गर्न नपाउँनु भन्ने सरकारको नाजीवादी सोच र चाहना समाजका लागि हानिकारक छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले गौर हत्याकाण्ड जस्ता जघन्य अपराधीलाई संरक्षण गर्ने, उसंग साठगाठ गर्ने गरेको देखियो । सरकारको विरोध गरेपछि रबी लामिछानेलाई पक्राउँ गर्ने र सरकारको समर्थन गर्ने गम्भिर अपराधका अपराधीलाई छोड्ने कामलाई हामीले के भन्ने ?’ सरकारले सत्तापक्ष र प्रतिपक्षको आधारमा पक्षपातपूर्ण छानविन र अनुसन्धान गरेर निरंकुशशैलीमा अगाडी बढेको उनले बताए ।सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञा दिदै आजपा अध्यक्ष साहले भने, ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ ।’विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए । सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको सरकार जनताका बीचमा गन्हाइसकेको टिप्पणी उनले गरेका छन् ।




























