
काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाल–भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखिएको बताउनुभएको छ ।सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा गौतमले सीमामा खुलारुपमा तस्करी हुदा समेत सरकार यसलाई रोक्न असक्षम देखिएको बताउनुभएको हो ।नेपालमा उत्पादित सुपारी निर्यातवारे समितिको छलफलमा गौतमले सरकारका रहेका व्यक्तिहरु नै तस्करहरुसंग मिलेको र कहिले पनि समाधान हुन नदिने खेल भएको जिकिर गर्नुभयो ।नेपाल–भारत सीमामा देखिएका तस्करी लगाएतका समस्या नियन्त्रण गर्न विधेयक बनाएर कानून तर्जुमा गर्नुपर्नेमा उहाले जोड दिनुभयो । गौतमले खुला सिमानाको दुरुपयोग सुधार गर्न सरकारले कुनै पहलकदमी लिन नसकेको जिकिर गर्नुभयो ।नेपालमा उत्पादन भएको बस्तु खुला सिमानाबाट भन्सार छलेर भारततर्फ लैजाने गरेको र यसका कारण मुलुकको राजस्व समेत गुमेको उहाले बताउनुभयो ।




























