
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् ।‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो। सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह गरेको छ।
नयाँ शैक्षिकसत्रको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ ।’उनले अगाडि भने-‘अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या करिब २० प्रतिशत रहेको छ । यो हाम्रा निम्ति दुःखको कुरा हो। गरिबीलाई न्यूनीकरण नगरेर हामी हाम्रो राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो।’उनले समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेमा जोड दिए।




























