
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् ।तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् ।केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।हाल प्रधानमन्त्री कार्की आफैँले सम्हाल्दै आएको परराष्ट्र मन्त्रालयको कार्यभार अब शर्माले लिनेछन्।द्वन्द्व व्यवस्थापन र सैन्य कूटनीतिमा दख्खल राख्ने शर्माले यसअघि ‘सेना समायोजन विशेष समिति सचिवालय’को संयोजकको रूपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरे । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेका उनी अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थसमेत झन्डै ४ वर्ष खटिएका थिए । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।




























