
काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज पद तथा गोपनियताको शपथ लिदैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो ।
शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।आज प्रतिनिधि सभाको बैठकबाट अर्याल निर्वाचित भएको प्रक्रिया पुरा गरेपछि शपथको कार्यक्रम हुने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु र संसद सचिवालयका सचिवहरुलाई आग्रह समेत गरेका छन् । शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।




























