
काठमाडौँ । नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर विरोध प्रदर्शन गर्ने भएको छ ।प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले दर्ता नगरेको विरोधमा नेपाल बारले प्रदर्शन गर्न लागेको हो ।सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रोकिएका रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई लिखित निर्देशन दिएकी थिइन् । तर, नेपाल बारका अनुसार सर्वोच्च प्रशासनले उक्त आदेश कार्यान्वयन नगरेको जनाएको छ ।नेपाल बारका पदाधिकारीको सोमबार बसेको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगर्नु अस्वाभाविक र अप्राकृतिक ‘रवैया’ भएको टिप्पणी गरेको छ ।बारले न्यायिक प्रक्रिया र प्रशासनिक निर्णयप्रति गम्भीर प्रश्न उठेको भन्दै विरोध कार्यक्रममार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्न लागेको जनाएको छ ।




























