
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले ललितपुरका ऐतिहासिक सम्पदा, प्राचीन मूर्ति र परम्परागत हिटीहरू संरक्षण गर्न तत्काल ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले भगवानकै रक्षा गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताएका हुन् ।सांसद खरेलले प्राचीन मूर्तिहरू चोरी हुने, ऐतिहासिक हिटीहरू हराउँदै जाने तथा सम्पदा क्षेत्रमा अतिक्रमण बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।उनले भने, “भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन् । तर मेरो नगरमा अब ‘भगवानको रक्षा गरिदिनुस्’ भन्नुपर्ने अवस्था आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन् । कतै उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमण बढ्दो छ ।”उनले ललितपुरका ऐतिहासिक सम्पदा संरक्षणका लागि राज्यले प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता पनि औंल्याए ।




























