
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित "आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्" भन्ने प्रस्ताव पेश गर्नेछन् । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने कार्यसूची तय गरिएको छ ।यसैगरी, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुका साथै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछन् । त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित उक्त विधेयक पनि संसदमा पेश गरिनेछ ।बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र सो विधेयक पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।त्यसैगरी, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।आजको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनबारे जानकारी गराउने कार्यक्रम रहेको छ । साथै, वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी पनि सभामुखले गराउने कार्यसूचीमा समावेश छ ।यद्यपि, प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका कारण नियमित संसदीय कार्यसूची प्रभावित हुने सम्भावना रहेको छ ।



























