
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको संरक्षण तथा विकासमा जुट्नुपर्ने बताएका छन्।सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे।उनले भानु जयन्ती केवल सम्झनाको दिन नभई भानुभक्तका आदर्शलाई व्यवहारमा उतार्ने अवसर भएको बताए। आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशका बीच पनि आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो।सभामुख अर्यालले भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनतासँगको निकटताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न आवश्यक रहेको बताए। उनले सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयअनुकूल ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए।उनका अनुसार भानुभक्त आचार्यको लेखनले नेपाली भाषालाई घर–घरमा पुर्याउनुका साथै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली भाषाले नेपालको सांस्कृतिक एकतालाई सुदृढ बनाउनुका साथै विदेशमा रहेका नेपालीलाई समेत भावनात्मक रूपमा जोड्ने माध्यम बनेको उनले बताए।सभामुख अर्यालले भाषा केवल सञ्चारको साधन मात्र नभई राष्ट्रको पहिचान, संस्कृति र इतिहाससँग जोडिएको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि राज्य, साहित्यकार, शैक्षिक संस्था तथा नयाँ पुस्ताको संयुक्त प्रयास आवश्यक रहेको बताए।



























