
काठमाडौं । काठमाडौं उपत्यकाभित्र संघीय सडकमा देखिएका समस्या, मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।अब उपत्यकावासीले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मत तथा अन्य समस्याबारे एपमार्फत गुनासो र सुझाव दर्ता गर्न सक्नेछन् । एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्थाबारे नागरिकले प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।सडक डिभिजन काठमाडौंका अनुसार गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ । संघीय सडकको जिम्मेवारीमा नरहेका सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको कार्यक्षेत्रमा पर्छ भन्ने जानकारीसमेत एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको एपलाई क्रमशः देशभर विस्तार गर्ने तयारी गरिएको छ । सडक डिभिजन काठमाडौंका अनुसार आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेत समेटेर सेवा विस्तार गरिनेछ ।त्यसपछि एपलाई क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य सडक डिभिजन काठमाडौंले लिएको छ ।



























