
गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गरेका छन् । उनले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् ।बिहीबार बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन आग्रह गरे । ‘ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न बाध्य हुन्छ,’ उनले भने ।उद्योग क्षेत्र थला पर्दा त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा समेत पर्ने भन्दै गृहमन्त्री खाणले यसतर्फ संवेदनशील बन्न आग्रह गरे । ‘बैंक तथा वित्तीय क्षेत्र माथि उठ्नका लागि पनि उद्योग क्षेत्रको विकास हुनुपर्छ । यसका लागि व्याजदर घटाउनु जरुरी छ,’ उनले भने ।कोभिडपछि कमजोर बनेका उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरका कारण झनै कमजोर बनेको गृहमन्त्रीको टिप्पणी छ । उनले उद्योगी व्यवसायीहरुको संरक्षण र संवर्द्धन सरकार तथा सबै जनप्रतिनिधिहरुको साझा दायित्व भएको समेत बताए । ‘सरकार एउटा पक्ष र उद्योगी व्यवसायी अर्को पक्ष होइनन्, समस्या समाधान गर्ने सबैको साझा दायित्व हो,’ उनले भने ।अब छिटै नयाँ सरकार बन्ने भन्दै उनले अवको सरकारको पहिलो प्राथमिकता र दायित्व आर्थिक गतिशीलता हुने बताए । उद्योगको विकास र अर्थतन्त्रलाई माथि उकास्ने काममा आगामी सरकार लाग्ने पनि उनले विश्वास व्यक्त गरे । बुटवलमा आयोजित प्रदर्शनीले उद्योगीलाई नयाँ ऊर्जा र शक्ति प्रदान गरेको पनि बताए ।Source : News of Nepal




























