
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय (निर्मल) ले बैठकमा नेता जनार्दन शर्माले संगठनसँग सम्बन्धि प्रस्तुत गरिरहनुभएको जानकारी दिनुभयो । बैठकमा सहभागी हुनुभएका उहाँले भन्नुभयो, “बैठकमा संगठन विभागको सन्दर्भमा अहिले जनार्दन शर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।”माओवादी केन्द्रको हिजो बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले आजको बैठकमा उक्त प्रतिवेदनमाथि पनि छलफल हुने जानकारी दिनुभयो ।अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको संक्षिप्त प्रतिवेदन पार्टीको वर्तमान अवस्था एवम् समिक्षा, यसअघिको पाँच दलीय गठबन्धन छोड्नुपर्ने कारण र नयाँ सरकार गठन लगायतका विषयसँग सम्बन्धित रहेको जनाइएको छ ।यससहित फागुन २९ गते वर्तमान राष्ट्रपतिको समयावधि सकिदैछ । यसअघि राष्ट्रपति निर्वाचन सन्दर्भमा राजनीतिक दलहरुबीच छलफल चलिरहेका बेला माओवादी स्थायी समितिमा पनि यस विषयमा कुरा उठेको उपाध्यायले बताउनुभयो । “राष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ”, उहाँले भन्नुभयो ।माओवादी केन्द्रको हिजोको बैठकमा राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको लागि प्रयास गरिने नेताहरुले जनाएका थिए ।Source:Gorkhapatra




























