
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भावी राष्ट्रपति सर्वसम्मतरूपमा चयन गर्ने प्रयास भइरहेको बताएका छन् । १० वर्षे जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २८ औँ स्मृति दिवसका अवसरमा बारपाक सुलिकोट गाउँपालिकाले आज आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले फागुन २५ गतेसम्ममा सहमतिमै राष्ट्रपति चयन हुने सम्भावना पनि रहेको दाबी गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका सबैलाई राष्ट्रिय शहिद घोषणा गरिने पनि बताएका छन् । यस्तै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग विधेयक संशोधन गरेर सदनमा प्रस्तुत गर्न लागिएको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् ।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरीमाया रम्तेलसहित बारपाकभित्रका शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै सांसद एवम् माओवादी केन्द्रका सचिव हितराज पाण्डेले शहीद परिवारको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै कुरा थोरै गरेर नागरिकको सेवामा बढी काम गर्न आग्रह गरेका छन् ।




























