
अमेरिकाका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरमा एक व्यक्तिले आफू कार्यरत बैंकमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो । ती कर्मचारीले सो घटनालाई इन्स्टाग्राममा लाइभसमेत गरेको प्रहरीले जानकारी दिएको छ ।गोलीबारी स्थानीय समयअनुसार बिहान साढे ८ बजे शहरको केन्द्रमा रहेको ओल्ड नेशनल बैंकमा भएको थियो ।मृतकहरुको उमेर ४० देखि ६४ वर्षको बीचमा रहेको छ । उक्त घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जना प्रहरी अधिकारी रहेका छन् । २६ वर्षीय निकोलास विल्ट दुई साता अघिमात्र प्रहरी सेवामा आवद्ध भएका थिए ।विल्टको टाउकोमा गोली लागेको र मस्तिष्कको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उक्त घटना भएको तीन मिनेटभित्रमै जवाफी कारबाही गरेको र गोली हानाहानमा आक्रमणकारी मारिएको बताइएको छ ।




























